बूढीगण्डकीको मुआब्जा तोक्न जनप्रतिनिधिको दबाब

धादिङ-राष्ट्रिय गौरवको जलाशययुक्त बुढी गाण्डकी आयोजना डुवानमा पर्ने बजार क्षेत्रको घरजग्गाको मुआब्जा नतोक्दा काम गर्न अफ्ठ्यारो भएको भन्दै जनप्रतिनिधिहरु मुआब्जा तोक्ने निकाय र संघीय सांसदप्रति रुष्ट भएका छन् । समृद्धिको सपना जनतालाई बाँढेपनि मुआब्जा निधारण गर्न ढिलाइ गरेको भन्दै सांसदहरुप्रति र अधिकार सदुपयोग नगरेर ढुवान पीडितलाई पीडा थपिदिएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रति रुष्ट भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी फेरिए पिच्छे स्थलगत अनुगमन र अन्तरक्रिया गर्ने डुवान पीडितलाई झस्काउने काम मात्र गरेको जनप्रतिनिधिहरुको आरोप छ । जनताकै भोटले जितेका संघीय र प्रदेश सांसदहरुले डुवान क्षत्रको मुआब्जा निर्धारण पहल नगरेको उनीहरको आरोप छ । जनताले दिनकै आफूहरुलाई मुआब्जा नतोकेकाले घरव्यवहार बिग्रेको, आर्थिक कारोवार समेत दिनदिनै खस्कँदै गएकोले मुआब्जा तोक्न पहल गरिदिन आग्रह गरेको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।
गोरखा जिल्लाको आरुघाट, आखेत र धादिङ जिल्लाको विशालनगर र खहरेबजारको घरजग्गाको मुआब्जा नतोकिँदा र दुई वर्षअघि मुआब्जा बुझेकाहरुको पनि घरगोठ र बोटबिरुवाको मुआब्जा नतोकिँदा डुवान प्रभावितहरु झन पीडित बन्दै गएकोले आफूहरुले स्थानीय जनप्रतिनिधि ( गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु) हरुलाई समन्वय गरी दोश्रो पटक अन्तरक्रिया गरेको जिल्ला समन्वय समिति धादिङका सदस्य कमलनारायण श्रेष्ठले बताए ।
एउटै आयोजनको मुआब्जा कसैले दुई वर्ष अघि बुझ्ने कसैले अहिलेसम्म नपाउने कार्य अन्यायपूर्ण भएकोले मुआब्जा तोक्न स्थानीय जनप्रतिनिधिले पहल गर्नुपर्ने भएकाले अन्तरक्रिया गरेको जिल्ला समन्वय समिति गोरखाका सदस्य राजु गुरुङले बताए ।
डुवान पीडितहरु आन्दोलनको विकल्प छोडेर जनप्रतिनिधिहरु समक्ष मुआब्जा तोक्न काम छिटो गर्न सहजिकरण गर्न माग गदै आएकाले स्थानीय जनप्रतिनिधिहरुले मुआब्जा तोक्न समन्वय गर्ने र दवाव सिर्जना गर्ने काममा समेत पछि पर्न नहुने त्रिपुरा सुन्दरी गाँउपालिका उपाध्यक्ष देवी पाण्डेले बताइन् ।
बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको मुअव्जा तोक्ने काम ३ वर्षदेखि रोकिएकोले अहिले गृहकार्य भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘मुआब्जा तोक्ने काम अन्तिम चरणमा पुगेको छ’, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी घर विदामा भएकाले रोकिएको हो । उहाँ कार्यालयमा आएपछिकाम अघि बढ्छ ।’