नेपालसँग सहकार्य गर्न पाकिस्तानी व्यवसायी इच्छुक «

नेपालसँग सहकार्य गर्न पाकिस्तानी व्यवसायी इच्छुक

पर्वतीय तथा साहसिक खेलकुद तथा हिमाल आरोहणसम्बन्धी बिभिन्न गतिविधि गर्दै आएको अल्पाइन क्लब अफ पाकिस्तानले पर्वतीय गतिविधि तथा साहसिक खेलका लागि नेपालका पर्यटन व्यवसायीसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
साँस्कृतिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत पाकिस्तानको बुद्धिष्ट साइट र त्यहाँको पर्यटनका बारेमा आयोजना हुने कार्यक्रममा सहभागी हुन इस्लामावाद पुगेका टोलीका सदस्यहरूसँगको छलफलमा उनीहरूले सो धारणा राखेका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा छ भने हामी कहाँ विश्वकै दोस्रो उच्च शिखर माउन्ट केटुसहित ८ हजार मिटरमाथि रहेका हिमालहरू ब्रोड पिक, जी वान, जी टु, तथा नागा पर्वत(किलर पिक) छन्, त्यसैले सगरमाथा र केटुलाई पर्वतारोहणका माध्यमबाट जोड्न सकियो भने पर्वतारोहणका क्षेत्रमा विश्वभर नयाँ उत्साह आउने अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष अब्बुज जफर सादिकले बताए ।
हामी दुई देशका पर्वतीय गतिविधिसँग काम गर्नेहरू मिलेर सहकार्य गरी अघि बढेमा दुवै देशलाई फाइदा पुग्छ, सादिकले भने । एकै सिजनमा सगरमाथा र केटु हिमाल आरोहण गर्ने पर्वतारोहीलाई दुवै देशले रोयल्टीमा छुट कम्तीमा पनि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गराउन सक्यौं भने सगरमाथा आरोहण गर्ने आरोही केटु हिमाल आरोहण गर्न र केटु आरोहीहरू सगरमाथा आरोहणका लागि उत्साहित हुन सक्छन्, यसबाट दुवै देशलाई फाइदा पुग्छ, यसमा हामी सबैले पहल गर्न जरुरी छ, अध्यक्ष सादिकले भने ।
छलफल कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा लामो समयदेखि पर्वतीय तथा साहसिक खेलकुदमा संलग्न हिमाल एक्सपिडिसनका अध्यक्ष विक्रम पाँडेले सगरमाथा र केटु हिमाल आरोहण एकै आरोहीले एकै सिजनमा गर्न सके हिमाल आरोहणको क्षेत्रमा बिश्वमै नौलो आयाम हुने बताउँदै उनले यसका लागि आफूहरूले नेपालको सरोकारवालाहरूसँग छलफल गरी अघि बढ्ने बताए । सगरमाथामा हुने विश्वकै उच्च स्थानको एभरेस्ट म्याराथन जस्तै पाकिस्तानको केटु हिमालमा पनि गतिविधि अघि बढाउन उनले सुझाव दिए ।
नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस् (नाट्टा)का वरिष्ठ उपाध्यक्ष अच्युत हुमागाईंले पर्वतीय तथा साहसिक खेलमा धेरै संभावना रहेको भन्दै पाकिस्तानमा पनि नेपालमा जस्तै पर्वतीय तथा खेल गतिविधिलाई बढावा दिन जरुरी रहेको भन्दै यसका लागि आफुहरूले सक्दो सहयोग गर्ने बताए । नाट्टाले नेपालका अन्य सरोकारवाला सस्थासँग समन्वय गरी के कसरी हुन्छ सहकार्यको बाटो अघि बढाउनेछ, गुरागाईंले भने ।
अल्पाइन क्लबका महासचिव सलाह उद्दिनले पाकिस्तानका बारेमा विश्वमा भ्रम फैलाइएको र यसले यहाँको पर्वतीय पर्यटनमा पनि असर गरेको भन्दै पर्वतीय पर्यटनका लागि मात्रै नभई अन्य पर्यटनका लागि पनि पाकिस्तान सुरक्षित छ भन्ने सन्देश फैलाउन नसक्दा पछि परेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरे ।
उपाध्यक्ष आयाज सिग्रीले काठमाडौंबाट तिब्बतको एअर स्पेस हुँदै पर्वतीय क्षेत्र रहेको पाकिस्तानको विमानस्थलमा उडान भर्न सके दुवै देशलाई फाइदा पुग्ने बताए । उडानका लागि पहल गर्न उनको आग्रह थियो । उनले नेपालमा पर्वतीय, तथा आरोहणसँग सम्बधित कामका लागि शेर्पाहरू कहलिएको र उनीहरू बफादार र काममा लगाब राख्ने भएको आफूहरूले पाएको भन्दै त्यस्तै शेर्पा जाति जस्तै पाकिस्तानका खुर्पाहरूलाई उच्चस्तरको तालिम दिनुभन्दै सहकार्य गर्न आफूहरू सधैं तयार रहेको जनाए । अर्का उपाध्यक्ष मोहम्मद फारुखीले वार्षिक ४० देखि ५० आरोही हिमाल चढ्न आउँछन् ।

 –मनोरञ्जन शर्मा

 

प्रतिक्रिया दिनुहोस्