सांसद देवकोटाले फ्लोर क्रस गर्दा गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए बहुमत

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा पेश गरेको विस्वासको मत सम्बन्धी प्रस्तावमा बहुमत प्राप्त गरेका हुन् । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उनकोे विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताए ।
प्रदेश सभामा सहभागी सदस्यको बहुमत प्राप्त गरेकोले पाण्डेले विश्वासको मत प्राप्त गरेको उनले जनाए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसदसहित अन्य ४ जनाले पक्षमा मतदान गरेका थिए । दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिए भने थप दुई सांसद राजीव गुरुङ र फणिन्द्र देवकोटाकोले समेत साथ लिए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकै पार्टीका देवकोटाले गत चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा जितेका थिए । देवकोटाले फ्लोर क्रस गरेपछि प्रमुख प्रतिपक्ष दलसहित प्रतिपक्षले विरोध जनाएका थिए । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । २०८० वैशाख १४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका पाण्डेले केन्द्रीय गठबन्धन फेरबदल हुँदा अल्पमतमा परेपछि गत फागुन २१ गते राजीनामा दिएका थिए । गण्डकीमा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् ।
सांसद देवकोटाकोले प्रदेशलाई स्थायित्व दिन र प्रदेश सभालाई बचाउन कांग्रेस नेतृत्वको सरकारलाई साथ दिएको बताए । देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको प्रतिकृया दिए । १५/१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आएको देखेकाले सरकार स्थायित्व गर्न पनि पाण्डे नेतृत्वलाई साथ दिएको जनाए ।
राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले केन्द्रको निर्देशन भन्दा पनि प्रदेशको विकास र प्रदेश सरकारको स्थायित्वका लागि पाण्डे नेतृत्व सरकारलाई साथ दिएको बताए । प्रदेशलाई मध्यावधिमा जाने अवस्था रोक्न र देशलाई आर्थिक भारबाट जोगाउन कांग्रेस नेतृत्व सरकारलाई साथ दिएको उनले बताए ।
यसैबीच गण्डकी प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारीमा छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने मंगबलार सार्वजनिक हुने बताइएको छ । दिउँसो तीन बजे प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।