Logo

अस्थिर नीतिले उद्योगी व्यवसायीमा मारमा

बुटवल– राजस्व सम्बन्धी अस्थिर नीतिले आफूहरू मारमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । सरकारले राजस्वलाई मात्रै ध्यान दिँदा आफूहरू मारमा परेको उनीहरूले बताएका हुन् । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट तथा आर्थिक विधेयकका कारण उद्योग व्यवसायमा पार्ने प्रभावका विषयमा बुटवल उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको कार्यक्रम व्यवसायीहरूले उक्त गुनासो गरेका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको बजेट राजस्व केन्द्रीत रहेको र अव्यवहारिक कर नीतिले बन्द हुने स्थितिमा रहेका उद्योग व्यवसाय अब पलायन हुने स्थितिमा पुगेको बताए । उनले उद्योगी व्यवसायीलाई करको व्यवहारिक पक्षको बारेमा जानकारी गराउन र अज्ञानताका कारण हुन सक्ने कमी कमजोरी कसरी हटाउन सकिन्छ भन्ने उद्देश्यले सम्बन्धित निकायका प्रतिनिधि र विज्ञसँग साक्षात्कार गर्नेगरी कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले ल्याएको बजटे र राजस्व नीति अव्यवहारिक र अवैज्ञानिक रहेको बताउँदै त्यसले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य तथा उद्योग समितिका सभापति राजेश अग्रवालले सरकारले ल्याएको बजेट तस्करहरूलाई प्रोत्साहन गर्ने गरी ल्याइएको आरोप लगाए । ‘कर बढाइएको छ, तर राजस्व घट्नेवाला छ,’ उनले भने, ‘बजेट अवैज्ञानिक छ, यो बजेटले तस्करीलाई प्रोत्साहन गर्छ’ । अहिले देशबाट विद्यार्थी पलायन भएजस्तै उद्योगी व्यवसायी पनि पलायन हुने स्थिति आउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।

उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले ऐनमा वर्षैपिच्छे हुने परिवर्तनले उद्योगी व्यवसायीलाई के गर्ने भन्ने अन्योल सिर्जना गराएको बताए । व्यवसायीहरूको गुनासोपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संसदबाट पास भएर आएको ऐन कार्यान्वयन गर्नुको विकल्प नभएकोमा जोड दिए । उनले झन्झटिलो कुराहरूमा सहजिकरण गर्ने र छिटो छरितो कार्यसम्पादन मात्रै हुन सक्यो भने पनि उद्योगी व्यवसायीलाई राहत मिल्नेमा जोड दिए । राज्यले गर्नुपर्ने कर सचेतनासँग सम्बन्धित कार्यक्रम उद्योग वाणिज्य संघले गरेकामा उनले आभार व्यक्त गरे । सो अवसरमा कर तथा राजस्व सम्बन्धी छलफल गरिएको थियो ।

छलफलमा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, आन्तरिक राजस्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल र भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख नारद गौतम सहभागी थिए । सो अवसरमा भन्सार तथा राजस्वमा भएको समस्या र नीतिगत व्यवस्था, उद्योगी व्यवसायीका समस्या र समाधानको खोजी गरिएको सिए प्रतिप भट्टराईले बताए । यसैबीच रुपन्देही उद्योग संघले चालु आर्थिक वर्षको संघीय बजेटका विषयमा उद्योगी–व्यवसायीहरूसँग अन्तरसंवाद गर्‍यो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट् संघ रुपन्देहीसँगको सहकार्यमा गरिएको कार्यक्रममा बजेटका कारण करको हेरफेर, भन्सार विधेयकले पारेको प्रभाव, आर्थिक ऐनमा व्यवस्था गरिएका नयाँ प्रावधान एवं र छुट सुविधालगायतका विषयमा उद्योगीहरूलाई विज्ञहरूको तर्फबाट जानकारी दिइएको थियो । चाटर्ड एकाउन्टेन्ट् रुपन्देहीका सचिव सगुण खनालले बजेट नीति र करमा भएका हेरफेरका विषयमा जानकारी दिएका थिए । उनले अहिले भन्सार महसुल ऐनमा भएको हेरफेरले सबै उद्योगी व्यवसायीहरू प्रभावित बनेको बताउँदै त्यसलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

बजेटमार्फत पाएका छुट सुविधा समयमै लिन समेत उनले अनुरोध गरे । अहिलेको बजेटमा थपिएको हरित कर, अन्तशुल्क, मुल्य अभिवृद्धि कर, पैठारी माल बाहक गाडीमा लाग्ने शुल्क, कृषि क्षेत्रमा गरिएको १० प्रतिशत आयकर जस्ता विषयले उद्योग क्षेत्रमा प्रभाव पर्न गई महँगी बढ्ने बताए । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योग क्षेत्रमा परेका आन्तरिक समस्या र बजेटमा समावेश भएका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

उनले भन्सारमा नै आयकर लिने विषय उचित नभएको भन्दै सबै उद्योगहरूबाट व्यक्तिगत सुझाव संकलन गरी सिएनआईमार्फत सरकारका निकायहरूमा पेश गरिने जानकारी दिए । संघका पूर्व अध्यक्ष तेज कुमार पाठकले अहिले उद्योग क्षेत्र कमजोर भएको अवस्थामा बजेटमा आएका केही विषयले अझै मर्कामा पारेको भन्दै सरोकारवाला सबैको साझा धारणा आउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्