Logo

जोगमाईमा क्यास्केटको काम ७० प्रतिशत पूरा

इलाम– इलामको जोगमाई खोलामा ‘माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको क्यास्केट आयोजना’ निर्माणको काम ७० प्रतिशत पूरा भएको छ । ५ दशमलव २ मेगावाट क्षमताको आयोजनाको निर्माण करिब ७० प्रतिशत सम्पन्न भएको हो ।

माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट निस्किएको पानीलाई करिब साढे तीन किलोमिटर पाइपलाइनमार्फत असलेमा रहेको पावर हाउससम्म पुर्‍याई विद्युत उत्पादन गरिने भएको छ । १२८ मिटर उचाइबाट पावर हाउसमा पानी खसालेर त्यहाँ जडान गरिएको छ । दुई वटा टर्बाइनमार्फत् विद्युत उत्पादन गरिने सञ्चालक हरिबाबु न्यौपानेले जानकारी दिए ।

२०७९ चैत महिनाबाट निर्माण सुरु भएको आयोजनाको मुख्य प्रभावित क्षेत्र माइजोगमाई गाउँपालिकाको ३ र ४ नम्बर वडा नामसालिङ्गमा रहेको छ । आयोजनाको सिभिलतर्फको काम सकेपछि मेकानिकल काम हुने र आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मेकानिकल इन्जिनियर विनोद ज्ञवालीले बताए । आयोजनाको निर्माणको ठेक्का शेर्पा हाइड्रो कन्स्ट्रक्सनले लिएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको पुवा खोला जलविद्युत आयोजनासहित माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको समेत उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम गरेको थियो । कम्पनीका छिरिङ शेर्पाले जोगमाई क्यास्केटमा केही उपकरणलगायतका सामग्री भन्सारमा रहेकाले निर्माणमा केही ढिलाइ भएको बताए ।

जोगमाई खोलामा निर्माण भएको यो तेस्रो जलविद्युत आयोजना हो । एक अर्ब लगानीमा आयोजना निर्माण भइरहेको न्यौपानेको भनाइ छ । नवविल बैंकको एकल लगानीमा निर्माण भइरहेको आयोजनाको मुख्य प्रवर्द्धक कम्पनी सानभी इनर्जी लिमिटेड रहेको छ । कम्पनीले प्रभावित क्षेत्र तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी भइरहेको जनाइएको छ ।

इलाम जिल्लामा मात्र हालसम्म १६ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भई १२१ मेगावाट विद्युत वर्षायाममा उत्पादन भइरहेको छ । जोगमाई खोलामा दुई आयोजना मात्र निर्माण भइरहेको छ । यीमध्ये माई खोलामा मात्र नौवटा जलविद्युत आयोजना निर्माण भएका छन् । पुवाखोखामा समेत जलविद्युत निर्माण भएका छन् । इलाममा चारवटा माई रहेका छन् । देउमाई खोलामा भने हाइड्रो सञ्चालन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्