नीति तथा कार्यक्रमलाई सुझाव संकलन
गोरखा– गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गरेको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, पूर्वजनप्रतिनिधि, विषयविज्ञ, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतले सुझाव दिएका छन् ।
सहभागी धेरैजसोले लिखित रुपमा सुझाव पेस गरेका छन् भने केहीले सुझावसहितको मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले नगरपालिकाको सबै वडाको मुख्य टोल वस्तीसम्म पुग्ने सडकलाई बाह्रै महिना यातायातका साधन चल्न सक्ने गरी स्तरोन्तति गर्न सुझाव दिए । यस्तै गण्डकी प्रदेशका पूर्वमन्त्री लेखबहादुर थापाले नगरको आन्तरिक सुशासनमा जोड दिन आग्रह गरे ।
जनप्रतिनिधिले कुनै पर्व वा समारोहमा व्यक्तिगत रूपमा दान दक्षिणा दिँदा अधिकतम पाँच सय रुपैयाँसम्म मात्रै दिन पाउने गरी नीति ल्याउनुपर्ने, एक वडा एक सडक कालोपत्रे गर्नुपर्ने, मजदुर किसान र करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उनको सुझाव छ । निवर्तमान मेयर राजनराज पन्तले बजेट बाँडफाँटमा वडालाई विभेद नगर्न आग्रह गरे ।
आफू नगरप्रमुख हुँदा सुशासन लगायतको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरिए पनि अहिले अवस्था खस्कँदै गएकोमा उनको चिन्ता छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव ब्यक्त गर्दै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले नगरबासीले ब्यक्त गरेका सुझावलाई योजना बैंकमा राखेर क्रमशः कार्यान्वयन गर्दै लैजान आग्रह गरे । प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजेटले धान्ने, नागरिकको पहुँचमा पुग्ने, प्रतिफल प्राप्त हुने र कार्यान्वयन गर्न सकिने खालका नीति तथा कार्यक्रम तथ गर्न सुझाव दिए ।
यस्तै कांग्रेसका नगरसभापति चन्दनबाबु खत्रीले नगरभित्रका घरको डिजिटल नक्सा बनाउनुपर्ने, नेकपा माओवादी केन्द्रका धु्रव भट्टले वडामा ब्यवस्थित खेल मैदान बनाउनुपर्ने, राप्रपाका उपाध्यक्ष रोलकबहादुर थापाले किसानलाई मलबीउ समयमै उपलब्ध गराउनुपर्ने, नेपाल समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टले अनुदान वितरणमा राजनीतिक पूर्वाग्रह राख्न नहुने र नेकपाका सेक्रेटरी काजी सिले श्रम र उत्पादनलाई जोड्ने खालका कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव दिएका छन् ।
यस्तै कार्यक्रमका अन्य सहभागीले सुझाव प्रस्तुत गर्दै गोरखा बजार क्षेत्रको खानेपानी तथा ढल ब्यवस्थापनमा ध्यान दिन, सार्वजनिक बसपार्कलाई ब्यवस्थित गर्न, पर्यटकीय गाडीलाई अलग्गै पार्किङको ब्यवस्था गर्न, फुटपाथ ब्यवस्थापन गर्न सुझाव दिएका छन् । यस्तै पर्यटन सूचना केन्द्रलाई ब्यवस्थित गर्न, फोहरलाई मल बनाउने कार्यक्रम ल्याउन, राष्ट्रिय विभूतिको नाममा पार्क बनाउन, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्न, कृषि उत्पादन वृद्धि र बजारीकरणमा ध्यान दिन, नगरभित्रको सार्वजनिक जग्गाको लगत संकलन गर्न र अतिक्रमित जग्गा फिर्ता गर्न, ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण गर्न सुझाव दिएका छन् ।
यसैगरी विद्यालयको नियमित निरीक्षण र सामाजिक परीक्षण गर्न, सीप र संस्कार सिकाउने खालको स्थानीय पाठ्यक्रम बनाउन, विद्यालयलाई गाभेर मेगा विद्यालय बनाउन, नगरका होटलभित्र जिल्लाकै पर्यटकीय स्थलको तस्बिर राख्न, नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउन पनि नगरवासीले सुझाव दिएका छन् । यस्तै साना सिँचाइ, खाद्य तथा पोषणमा ध्यान दिन, नगरपालिकाको आवधिक योजना र सञ्चार नीति निर्माण गर्न, दीर्घ बिरामीको सूची बनाई घरमै औषधी उपलब्ध गराउने ब्यवस्था मिलाउन, प्रदर्शनीस्थल र वधशाला निर्माण गर्न, सेवा प्रवाह र भुक्तानी प्रणालीलाई ब्यवस्थित गर्न पनि नगरबासीको सुझाव छ ।
यस्तै विदेश गएर फर्किएका आप्रवासी कामदारलाई लक्षित गरी रोजगारमूलक कार्यक्रम ल्याउन, एचआईभी संक्रमितलाई पोषण सुधारको कार्यक्रम ल्याउन पनि सहभागीले सुझाव दिएका छन् । कार्यक्रममा सहभागीको सुझावपछि आफ्ना धारणा व्यक्त गर्दै नगरप्रमुख कृष्णबहादुर राना र उपप्रमुख मसलीमाया थोकरले आगामी वर्षका नीति तथा कार्यक्रममा प्राप्त सुझावलाई क्रमैसँग समावेश गर्दै लैजाने बताए ।