Logo

अज्ञात रोगले भेडा मर्न थालेपछि चिन्तामा किसान

जुम्ला– अज्ञात रोगले भेडा मर्न थालेपछि जुम्लाका भेडापालक किसान चिन्तामा छन् । पाटनमा राखिएका भेडा धमाधम मर्न थालेपछि हिमा गाउँपालिकाका भेडापालक किसानलाई चिन्ताले पिरोलेको हो ।

जुम्लाका किसानको मुख्य आयस्रोतमा भेडापालन पनि एक हो । स्याउ खेती, जडिबुटी संकलन, कृषि, ओखर खेती जुम्ली किसानका मुख्य आयस्रोत हुन् । स्याउ, ओखरमा कहिले रोग–किराको प्रकोप र असिनापानीले क्षति गर्छ भने कहिले अज्ञात रोग त कहिले चट्याङ लागेर भेडापालन व्यवसाय संकटमा पर्दै गएको छ ।

हिमा गाउँपालिकाको नदै पाटनमा राखिएका २३ वटा भेडा एकपछि अर्को गर्दै मरेपछि किसान आत्तिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । उनले भने, ‘किसान आत्तिएका छन् । लाखौंको क्षति भइसकेको छ । मुख्य आम्दानीको स्रोत, घर व्यवहार चलाउने आधार नै भेडापालन हो । रोग पत्ता लगाउन पहल भइरहेको छ ।’

अज्ञात रोगले हिमा गाउँपालिका–१ का किसान विरबहादुर शाहीका १० वटा, कर्णबहादुर शाहीका ६ वटा, अकल शाहीका ४ वटा, जिर शाहीका ३ वटा भेडा मरिसकेका छन् । अरु भेडा पनि अस्वस्थ भएकोले तत्काल उपचारको व्यवस्था गरिदिन भेडापालक किसान वीर बहादुर शाहीले अनुरोध गरे । उनले भने, ‘धमाधम भेडा मर्न थाले । हामी आत्तिएका छौं । भेडा मर्नु भनेको हाम्रो चुलो नबल्नु हो । भेडामा पातलो दिसा गर्ने, ज्वरो आउने, काँप्ने, झोक्राउने समस्या देखिएको छ । चाँडै रोग पत्ता लगाई उपचार नभए सबै भेडा मर्ने अवस्था छ ।’

हिमा गाउँपालिका पशु शाखा प्रमुख नरसिंह थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताए । उनका अनुसार कुन रोग लागेको भन्ने थाहा नभएकोले पहिले रोग पत्ता लगाएर उपचार थालिनेछ । भेडा मर्न थालेपछि नदै पाटनबाट भेडाहरु काला काटियातिर सारिएको किसानले जनाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले समन्वय गरेमा आवश्यक औषधी पठाइदिने बताए ।

पछिल्ला वर्षमा अज्ञात रोग र चट्याङका कारण भेडाहरु मर्न थालेपछि व्यवसाय नै संकटमा पर्ने देखिएको छ । पछिल्लो तीन वर्षमा जुम्लामा तीन सयभन्दा बढी भेडा रोग प्रकोप र चट्याङ लागेर मरेका छन् । तर, किसानले उचित राहत भने पाएका छैनन् । भेडापालन व्यवसायलाई बढाउन र किसानलाई राहत प्रदान गर्न स्थानीय तहले ठोस नीति बनाउनुपर्नेमा सरोकावालाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्