बिउमा आत्मनिर्भर बन्दै भेरी नगरपालिका
वीरेन्द्रनगर– उन्नत जातको बिउ उत्पादन गरेर जाजरकोटको भेरी नगरपालिकालाई आत्मनिर्भर बनाएको नगरपालिकाको कृषि शाखाले अब हाईब्रिड बिउ उत्पादन गर्न परीक्षण सुरु गरेको छ ।
भेरी नगरपालिका–२ आरुखेतस्थित रामपुर हाईब्रिड १० जातको मकैको बीउ उत्पादन गर्नका लागि कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षणको काम सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । अघिल्ला वर्षमा रामपुर हाईब्रिड १२ जातको मकैको बिउ भेरी नगरपालिका–३ स्यालामा १ हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिए । उन्नतजातको बिउ उत्पादनको काम सफल भई किसानले आम्दानी लिन थालेपछि हाईब्रिड जातको बिउ उत्पादनमा लागेको उनको भनाइ छ ।
भेरी नगरपालिकाका किसानलाई तालिम तथा बिउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अनुगमन भम्रणमा जाने गरिएको उनले जानकारी दिए । भेरी नगरपालिकाबाट उन्नत जातका विभिन्न तरकारी तथा खाद्य बालीका बिउ उत्पादन भई बजारीकरणको काम समेत भइसहेको शाखाले जनाएको छ । हाईब्रिड बिउ उत्पादन गर्न भने अन्य बिउ उत्पादन गरेको जस्तो सजिलो नभएको अधिकारीले बताए । एक महिना अघिदेखि बिउ लगाउने ठाउँको वरीपरी जमिन खाली गर्नुपर्ने हुन्छ उनले भने, ‘वरीपरीको जमिन खाली बनाएर पोथी र भाले रेखा निर्माण गरेर ७२ घण्टाको समय अन्तरमा बिउ लगाउने पर्ने नियम छ ।’
नगरपालिकाले उन्नत जातको मकैको देउती, मनकामना–३ जातको भेरी–७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउँदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका–३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताए । नगरपालिका–१० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका–१ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ, प्याज, रायो, मुला, केराउ र सिमीलगायतका तरकारी बालीको उन्नत बिउ वडा– २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भइरहेको उनले जानकारी दिए ।
हाल रामपुर हाईब्रिड १० र १२ तथा सृजना गोलभेंडाको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनले बताए । भेरीलाई बिउमा आत्मनिर्भर बनाउन कृषि शाखाले अधिकांश कार्यक्रममा बिउ उत्पादनमा जोड दिइएको छ । अधिकांश बिउ भेरीभित्र उपलब्ध हुने गरेको छन् । बिउकै लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको वडा–१ का कृषक शेरबहादुर खत्रीले बताए । नयाँ नयाँ प्रविधिको विकास गरी अनुदानमुखी कार्यक्रमबाट कृषकलाई सहयोग हुँदै आएको उनको भनाइ छ ।