Logo

श्रमाधान मेलामा रोजगारीका लागि ५ सयको आवेदन

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा शुक्रबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला शनिबार सम्पन्न भएको हो । रोजगारदाता रोजगारीको खोजीमा रहेकालाई जोड्ने उद्देश्यले सुरु भएको श्रमाधान मेलामा पाँच सय जनाले रोजगारीका लागि फारम भरेको आयोजकले जनाएको छ ।

श्रमाधान रोजगार मेलामा पाँच हजार बढी दर्शकले आवलोकन गरेका छन् । दुई दिने मेलामा चार हजार बेरोजगार श्रमिकसहित रोजगारदाता प्रत्यक्ष लाभान्वित भएको आयोजकको दाबी छ । मेलामा विभिन्न खालका ४० वटा स्टल राखिएका थिए । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सिद्धार्थ गु्रप, नेपाल उद्योग परिसंघलगायतका विभिन्न खालका स्टल रहेका थिए । मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

मेलाले रोजगारीका लागि अवसर सिर्जना गर्नुका साथै बेरोजगार युवालाई आगामी दिनमा कस्तो खालका सीप सिकेर रोजगार हुन सकिन्छ भन्ने सचेतना अभिवृद्धि भएको कार्यक्रम संयोजक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टीकाराम ढकालले बताए । मेलामा विभिन्न कम्पनीले ३५० भन्दा बढी क्षेत्रमा कर्मचारी माग गरेका थिए । जसमा एक हजार तीन सयभन्दा बढीले आवेदन दिएका छन् । मेलामा रोजगारीका लागि फाराम भरेकालाई पछि सम्बन्धित कम्पनीले बोलाउनेछ ।

काम अनुसारको सीप र सीप अनुसारको काम नपाउने समस्या
बेरोजगार युवा रोजगारीको खोजीमा छन् भने रोजगारदाता श्रमीकको । तर दुवैले भने अनुसारको काम र श्रमिक पाउन नसक्दा रोजगारी सिर्जना हुन नसकेको पाइएको छ । श्रमाधान मेलाका सन्दर्भमा शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको कर्णालीमा रोजगारीका अवसर र चुनौती विषय संवाद कार्यक्रममा वक्ता र सहभागीबीचको छलफलले यस्तो देखिएको हो ।

छलफलमा वक्ताका रूपमा सहभागी सिद्धार्थ ग्रुपका अध्यक्षसमेत रहेका चेम्बर अफ कमर्श कर्णाली प्रदेशका अध्यक्ष चिन्तामणि न्यौपानेले आफ्नो कम्पनीमा दुई सय श्रमिक आवश्यक परेको तर खोजेअनुसार जनशक्ति पाउन नसकेको बताए । यस्तै कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको लघु घरेलु औद्योगिक ग्राम सञ्चालक समितिका अध्यक्ष उदिराम डाँगीले सुर्खेतमा सञ्चालित औद्योगिक ग्राममा तत्काल तीन सयजना श्रीमक आवश्यक परेकोमा पाउन नसकेको सुनाए ।

यस्तै वक्ताकै रूपमा सहभागी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँंडेलले पनि आफूले सञ्चालन गरिरहेको अटो मोबाइल्स कम्पनीमा खोजेको जनशक्ति नपाएको बताए । छलफलमा दर्शका रुपमा सहभागी युवाले भने वक्ताले भनेको कुरामा असहमति जनाउँदै आफूहरूले रोजगारी नपाएको गुनासो गरे । ‘रोजगारीका लागि मान्छे पाएका छैनौँ भन्ने कुरा सुन्दा हास्यास्पद लाग्यो,’ सहभागी दैलेखका सुरेन्द्र दर्लामीले भने, ‘म कृषि प्राविधिक हो रोजगारीका लागि धेरै ठाउँ गएँ काम पाउन सकेको छैन म कसरी उहाँहरूको कुरा विश्वास गरौँ ।’

जवाफमा चेम्बर अफ कमर्शका अध्यक्ष न्यौपानेले व्यवसायीले खोजेको सीपयुक्त जनशक्ति र युवासँंगको भएको ज्ञानको तालमेल नमिल्दा शैक्षिक बेरोजगार उत्पादन भएको दाबी गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँंडेलले वर्षेनी सरकारले विभिन्न व्यावसायिक तालिम सञ्चालन गरे पनि उक्त कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै रोजगारीको ग्यारेण्टिसहित निजी क्षेत्रसँंग समन्वय गरेर आवश्यक तालिम दिनुपर्नेमा जोड दिए ।

लघु औद्योगिक ग्राम सञ्चालक समिति अध्यक्ष डाँगीले स्थानीय तहमा आवश्यक श्रमशक्तिको आधारमा मात्रै तालिम दिनेगरी सरकारलाई सुझाव दिएको बताए । आगामी वर्षदेखि कर्णाली प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा रोजगारी सिर्जना हुने सुनिश्चिततासहित आवश्यकतामा आधारित तालिम सञ्चालन गर्ने बताए ।

संवादमा सहभागी युवाले अहिले निजी क्षेत्रले दिने रोजगारीमा न्यून पारिश्रमिक र समयमा नपाउने, पेशागत सुरक्षा नहुने तथा कामको सम्मान नहुने समस्या रहेको बताए । उनीहरुले व्यक्तिको आधारभूत आवश्यकतालाई हेरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने, निश्पक्ष रूपमा रोजगारीका अवसर दिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्