ह्वासिन सिमेन्टद्वारा अतिप्रभावितलाई घर उपहार
धादिङ– २५ बेनीघाट रोराङ गाँउपालिका–२ ताल्तीमा सञ्चालित ह्वसिन सिमेन्ट उद्योगले विश्व वातावरण दिवसको अवसरमा अतिप्रभावित ११ परिवारलाई घर हस्तान्तरण गरेको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकटेलले घर अगाडि बिरुवा रोपेर सिमेन्ट उद्योग र घर प्राप्त गर्ने बीच भएको सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।
नेपालकै ठूलो सिमेन्ट उद्योग दाबी गरिएको ह्वासिनको चुनढुंगा खानी उद्योगबाट एक किलोमिटर उत्तरमा पर्छ । चुनदुंगा खानीबाट अतिप्रभावित ११ परिवारलाई उद्योगले आफ्नै नाममा रहेको १२ रोपनी जग्गासहित घर निर्माण गरिदिएको हो । घर प्राप्त गर्नेले आफू अनुकुल बनाउन भनेर उद्योगले प्रतिघर निर्माण गर्न दुई किस्तामा पाँच लाख रुपैयाँ दिएको छ । घर निर्माण भइसकेको छ । तर केही रंगरोगन गर्न बाँकी छ उद्योगका प्रतिनिधि तुलसी थापाले बताए ।
उद्योगले घर बनाएर दिँदा बस्नेलाई चित्त नबुझ्न सक्छ भनेर नगद दिने प्रबन्ध मिलाएको उनले बताए । उनले भने, ‘उहाँहरूलाई कम्पनीले जग्गा पास गरेर दिन नमिल्ने भएकाले ३० वर्षका लागि सम्झौता गरेका छौं ।’ अतिप्रभावितलाई तीन स्थानमा बसोवासको व्यवस्था मिलाइएको छ । अतिप्रभावित सबै परिवारलाई ज्यालादारीमा उद्योगले काम दिएको थापाले बताए । बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकाका १५० जनाभन्दा बढीले उद्योगमा रोजगारी पाएका छन् ।