एकैदिन ३ वटा पक्की पुल उद्घाटन

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नाे आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चिएर निर्माण गरेको तीनवटा पक्की पुलको शनिबार उद्घाटन गरिएको छ । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पक्की पुलमध्ये भर्खरै सम्पन्न भएका तीनवटा पुलको बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
मनहरि–१ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । ३ स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लम्बाइको रहेको छ । उक्त पुल ६ करोड २८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको हो । त्यस्तै २ स्पानको ट्वाङ्ग्रा खोला पनि ६४ दशमलव १५ मिटर लामो रहेको छ । उक्त पुल निर्माण गर्न ६ करोड ४९ लाख रुपैयाँ खर्च गरिएको छ ।
यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो । तीनवटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । तीनवटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेका हुन् । दुई वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो ।
गाउँपालिकाकै बजेटमा सोही सडक खण्डमा अन्य दुईवटा पुल भने निर्माणाधीन अवस्थामा छन् । २०७७ सालमा एकैदिन ठेक्का सम्झौता गरिएको पाँचवटा पुलमध्ये तीनवटा पुल निर्माण सकिएको भएता पनि दुईवटा पुल निर्माणको काम भने जारी छ । हिराचन बानियाँ जेभीसँग आठ करोड ६७ लाख रुपैयाँमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ ।
त्यस्तै भैरव नारायणम् जेभीसँग पाँच करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको पुलको काम करिब ६५ प्रतिशत सकिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । पाँचवटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाबाट करिब साढे ३३ करोड रुपैयाँ खर्च हुनेछ । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरिको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले एकैसाथ पाँचवटा पुल निर्माण सुरु गरेको थियो ।
सो सडकअन्तर्गत सबै पुल निर्माण हुने र सडक पनि स्तरोन्नति हुँदा त्यस क्षेत्रका कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुल निर्माणसँगै मनहरिका चारवटा वडाका बासिन्दा विशेष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे ।
जनप्रतिनिधिले जनताको आवश्यकता र पीरमर्कालाई मध्यनजर गर्दै काम गर्नुपर्ने उनको भनाइ थियो । जनप्रतिनिधिले बोल्नेभन्दा काम गरेर जनताको मन जित्नुपर्ने उनको भनाइ थियो । बाँकी रहेको दुईवटा पुलमध्ये ठाडोखोलाको पुल पनि अबको एक महिनाभित्रै सम्पन्न गर्न आफूले पहल गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेती, पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्षहरू शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, पूर्व वडाध्यक्ष ध्रुव खड्काको उपस्थिति थियो । यसैगरी संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरलगायतले पुल निर्माणसँगै स्थानीयबासीको दैनिक जीवनयापन सहज हुने विश्वास व्यक्त गरे । पुल निर्माणसँगै सडक स्तरोन्नतिमा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।