Logo

पर्यटकको बसाई लम्ब्याउन फेवाताल किनारमा पदमार्ग

पोखरा– पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन फेवाताल पारि पुम्दी भुम्दीमा पदमार्ग निर्माण गरिएको छ । पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी हुने भएकाले छोटो दूरीको पदयात्रा गर्ने पर्यटकका लागि पोखरा–२२ मा पर्ने अनदुदेखि ड्यामसाइड क्षेत्रको फेवाताल किनारामा पदमार्ग निर्माण भएको हो ।

ड्यामसाइडको वनस्पति पार्कबाट अनदुसम्म रानीवनमा पर्ने पदमार्ग करिब ४ किलोमिटरको रहेको छ । उकालो र ओरालो भन्दा पनि ताल किनारामा पद मार्ग भएकाले प्रायः सबै उमेर समुहका व्यक्तिको उत्कृष्ट पदमार्ग हुन सक्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउन उक्त पद मार्गले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

पदमार्ग निर्माणसँगै पोखरामा आएका पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखरा बजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने र यो उत्कृष्ट गन्तव्य हुने टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले दाबी गरे । पोखराको मुख्य बजार क्षेत्रबाट नजिक रहेकाले एक घण्टा डुंगा सयरदेखि ३/४ घण्टाको पद यात्रा हुने उनले जनाए । हाल निर्माण भएको पदमार्गको करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बरालले बताए ।

उनले ड्यामसाइडदेखि रानीवन हुँदै, अनदु, रातमाटा, शसर्कोदेखि खपौदीसम्म जोड्न करिब ९ किलोमिटर पदमार्गको अवधारणा अघि सारेको बताए । आगामी वर्ष योजना अनुरुप उक्त पद मार्ग पूरा गर्न करिब एक करोड बजेट आवश्यक भएको उनले जानकारी दिए । पोखराको मुख्य बजारदेखि नजिक भएर पनि सामान्य कच्ची बाटो शान्ति स्तुपाःदेखि अनदुसम्म जोडिएको छ ।

गुरुङ बस्तीको बाहुल्यता रहेको अनदुका स्थानीय मुख्य बजारमा आउँदा डुंगाबाट सिधै लेकसाइड तथा ड्यामसाइड आउन सकिन्छ भने शान्ति स्तुपाबाट जाँदा कच्ची सडक मार्ग हुँदै पोखराको मुख्य बजारमा आउन सकिन्छ । गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजना गरेकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने छोटो पदमार्गको रुपमा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको प्रवर्द्धन गर्न खोजेको उनले जनाए ।

पोखरालाई आधार बनाएर हिमाल आरोहण देखि पदमार्गमा जानेहरुको पूर्व तयारी स्वरुप उक्त छोटो दुरीको पदमार्ग एक कोषेढुंगा सावित हुन सक्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । लामो दुरीको पद यात्रा गर्न नसक्नेका लागि उक्त पदमार्ग उत्कृष्ट भएको उनले दाबी गरे । भ्यू फेवा, राउन्ड फेवा पदमार्गको उचित प्रचार प्रसार गर्न सके यसबाट पर्यटकको एक दिनको बसाई अवधि लम्ब्याउन सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्