द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

निजगढ(बारा)-बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँँ अवधारणाअनुसार गति अघि बढाउने भएको छ ।
सेनाको नयाँ अवधारणाअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरू आफैं निर्माण गर्ने भएको हो । विवादमा तानिएका योजना प्रमुखको कामबाट आयोजना ढिलो हँुदै गएपछि प्रधान सेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणामा सेना आफैँले काम गर्नेछ ।
योजना प्रमुखको पद रिक्त रहे पनि आयोजनाको काम अब दु्रत गतिमा लैजान सेनापतिले कडा निर्देशन आयोजनाका सम्बन्धित पदाधिकारीहरूलाई दिएका छन् । द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएका क्षेत्र करिब २५ किमी कालोपत्रे तत्काल थालिने र सँगै नाला, पर्खाल बनाउँदै लैजाने र बाँकी क्षेत्रमा पनि सडक फिलिङ, कटिङसँगै कालोपत्रे सँगै लैजाने जनाएको छ ।
रुख काटने, सडक भर्ने र काट्नेमात्र काम गरेको सेनाले अब दु्रतगतिमा सेना आफैंले नयाँ कन्सेप्टमा कालोपत्रे, स–सना पुल, कल्भर्ट, वाल आफैं बनाउने योजनामा अघि बढिसकेको आयोजनाका को—अर्डिनेटर भरत खड्काले बताए ।
केही समय सुस्त देखिए पनि काम भइरहेको थियो र अब आयोजनाका धेरै जसो काम आफैले गर्ने भएपछि जसरी रुख काटने बेला २४ घण्टै सेना जुटेको थियो त्यसै गरी निर्माणमा पनि सेना त्यसैगरी जुट्ने उनले बताए ।
सेनाले निजगढदेखि ८ं.५ किलोमिटर उत्तरतर्फ सडक पिच, कल्भर्ट र पुल निर्माण थाल्ने भएको छ । सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम सबै खोजेपछि सेना आफैँले ४ लेनलाई चिरा पारेर २ दुई लेनको बनाउने र फेरी चारलेन सँगै जोड्ने साथै फिलिङ भएका स्थानमा पिच गर्दै अगाडि बढ्ने र चोभारदेखी बाग्मती खोलासम्म फिलिङ, कटिङसंगै कालोपत्रे गर्ने खडकाले बताए ।
चार वर्षभित्र निर्माणको सम्पूर्ण काम सक्ने सर्तसहित २७ साउन ०७४ मा निर्माणको जिम्मा सेनाले पाएको थियो । सर्तअनुसार सेनाले २७ साउन ०७८ भित्र फास्ट ट्र्याक निर्माणको सम्पूर्ण काम सक्नुपर्नेछ । सेनाका अनुसार अहिले ५४.५१ किमि सडकमा फिलिङ, कटिङ, वाल, जमिन बाँध्ने काम भइरहेको छ । ‘माइनर कन्स्ट्रक्सन’को काम २७ साउन ०७७ सम्म सकिने सेनाले जनाएको छ ।