निर्माणाधिन कोल्ड स्टोर आठ वर्षदेखि अलपत्र
पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधिन कोल्ड स्टोर आठ वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/०७४ सालमा पाँच करोडको लागतमा निर्माण सुरु भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो ।
बेसिजनमा सुन्तला र आलुलगायत फलफूल र तरकारी बजारमा पठाउने गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । २ तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ ।
हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिएपनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । घर नजिकै अलपत्र बनेको भवन देख्दा उदास लाग्न लागेको जग्गा दाता ६० वर्षिय खिमबहादुर हमालले बताए । विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको यही भवन आज उनको टाउको दुखाइको विषय बनेको छ ।
आफ्नै घर आँगनमा चिस्यान केन्द्र बन्ने कुरा सुनेर उत्साहित हुँदै गाई गोठसमेत सारेर निर्माण समितिलाई जग्गा दिने सहमति गरेका हमालले अहिलेसम्म न कुनै पैसा न त आफ्नै जग्गा उपभोग गर्न पाएका छन् । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो ।
२०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । न जग्गा पास भएको छ न रकम नै पाएको उनको गुनासो छ । तिमिल्सिना निर्माण समिति अध्यक्ष रहेकी छिन् । स्थानीय सरोकारवालाले भने इस्टिमेटअनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताउँछन् ।
निर्माण समिति अध्यक्ष तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर २४ लाख भन्दा बढी रकम आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम सरु गरिहाल्यौं’ उनले भने, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढुन नसकेको हो ।
पैसा छिट्टै आउँछ भनेकाले कागज गरेर जग्गा लिने सम्झौता भएपनि रकम निकासा नआएपछि समस्या भएको उनको भनाइ छ । दुईतले कोल्डस्टोर निर्माण कार्य एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ । बनेको संरचना पनि अहिले खण्डहर बनेको छ । समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्थ्यो ।
‘हामीले कौडीका भाउमा सुन्तला बेच्नुपरेको छ’ स्थानीय दाताराम चापागाईं भने, ‘कोल्डस्टोर भइदिएको भए अहिले टिपेका सुन्तला फागुन–चैतमा डेढ सय रुपैयाँ किलोमा बिक्री हुने थिए ।’ योजना अुनसार ५० टन क्षमताको दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो । मोदी २ देउपुरका तत्कालिन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यान केन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भएपनि सुनुवाई नभएको बताए ।
जग्गा व्यवस्थापनका लागि वडाबाट १५ लाख रुपैयाँ विनियोजन पनि गरेको भएपनि जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न नसकेको उनको दावी छ । वर्तमान वडाध्यक्ष बेलबहादुर कार्कीले पनि उक्त स्थानमा चिस्यान केन्द्र निर्माणको लागि जग्गा खरिद गर्न प्रक्रियागत समस्या रहेको बताए । ‘जग्गा खरिदको लागि अहिले कुनै पनि शीर्षकबाट रकम विनियोजन गर्न सक्ने अवस्था छैन’ वडाध्यक्ष कार्कीले भने ‘जग्गा विवादकै कारण चिस्यान केन्द्र निर्माणको कार्य अलपत्र परेपछि सार्वजनिक जग्गाको खोजी गरी निर्माण कार्य अगाडि बढाउने तयारीमा छौं ।’
कृषि तथा दुग्ध उत्पादन बिक्री वितरण गर्दै आइरहेको मोदी खोला सहकारी संस्थाका अध्यक्ष बेदप्रसाद तिमिल्सिनाले गाउँ पालिकाले सहजीकरण गरी भवन प्रयोगमा ल्याउने वातावरण तयार गरी दिने हो भने सहकारीले थप लगानी गरी सञ्चालन गर्न सक्ने बताए । राज्यको लाखौं रकम यसरी खेर जान दिनु भन्दा जग्गाको समस्या समाधान गरी उपयुक्त निकास निकाल्नतर्फ गाउँ पालिकाले उचित पहल गर्नुपर्ने उनको भनाइ छ ।