कर्णालीमा पौष्टिक तत्वयुक्त चामलको माग

वीरेन्द्रनगर (सुर्खेत)– साविकको कर्णालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पौष्टिक तत्व भएको चामल (फोर्टिफाइड राइस) बिक्री दर बढाएको छ । चालु आर्थिक वर्षमा सुरु भएको यो पौष्टिक तत्वयुक्त चामल बिक्री दर ह्वात्तै बढेको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले बताए ।
उनका अनुसार डोल्पामा २५७२.७५ क्विन्टल, मुगुमा २२५५.२५, जुम्लामा १०४६, कालिकोटमा १४८९.२५ क्विन्टल र हुम्लामा ४६५३.२५ क्वीन्टल पौष्टिक तत्वयुक्त चामल वितरण भएको छ । हालसम्म १२ हजार १६.७५ क्विन्टल चामल बिक्री भएको उनको भनाइ छ । नेपालगन्जमा २१०, सुर्खेतमा २३७, राजापुरमा ७०८ क्विन्टल चामल मौजदात रहेको उनको भनाइ छ ।
प्रदेशभरी ७० हजारभन्दा बढी चामल बिक्री गर्ने लक्ष्य रहेको प्रदेश कार्यालयले जनाएको छ । शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाख महिनादेखि बिक्री गर्न थालेको बताएको छ । कम्पनीको मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताए । सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकले पोषणयुक्त खानपिन नपाउने भएकाले सो पौष्टिक चामल लाभदायक हुने गरेको छायाँनाथ रारा नगरपालिका–७ की स्थानीय कल्लीकला रावलले बताइन् ।
जिल्लाको खाद्य कार्यालयबाट चामल बजार दररेटभन्दा धैरे कममा पाउने भएकाले चामल लिनका लागि उपभोक्ताको भीडभाड हुने गरेको उनको भनाइ छ । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको निर्देशिका अनुसार साविकको कर्णालीका पाँच जिल्लामा सुत्केरीलाई आमा र बच्चाको स्याहारसुसारका लागि २५ केजी पौष्टिक चामल अनुदानमा दिने व्यवस्था गरेको छ । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए ।
निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिनेछ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ ।
स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ । दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।
चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिंक ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्नेछ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिंक स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।
निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसांख्यकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुपोषणको दरमा सुधार आइरहेको भए पनि सूक्ष्म पोषकतत्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ ।