Logo

सबैभन्दा बढी अनुदान पाउनेमा तिलोत्तमा नगरपालिका

बुटवल– अन्तरसरकारी वित्त हस्तान्तरणअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि संघीय सरकारबाट १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ अनुदान पाउने भएको छ । तिलोत्तमाले लुम्बिनी प्रदेशमै सबै भन्दा बढी वित्तीय अनुदान पाउने भएको हो । प्रदेशमा चार वटा उपमहानगरपालिकासहित १०९ स्थानीय तह छन् ।

प्रदेशका उपमहानगरपालिको भन्दा पनि धेरै अनुदान तिलोत्तमाले पाउने गरेको छ । जस अनुसार तिलोत्तमाले समानीकरणतर्फ २४ करोड १२ लाख र ससर्त अनुदानतर्फ १ अर्ब ८ करोड पाउने भएको छ भने विशेष अनुदानतर्फ २ करोड रुपैयाँ छुट्याइएको छ । तिलोत्तमाको छिमेकी बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि संघ सरकारबाट कुल ८६ करोड ४२ लाख रुपैयाँ पाउने भएको छ ।

बुटवललाई समानीकरणतर्फ २९ करोड ४५ लाख रुपैयाँ विनियोजन भएको छ । ससर्त अनुदानको लागि ५२ लाख ६७ हजार र विशेष अनुदानतर्फ ३ करोड रुपैयाँ छुट्याइएको छ । दाङको घोराही उपमहानगरपालिकाले कुल १ अर्ब १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । त्यस्तै तुल्सीपुर उपमहानगरपालिकाले १ अर्ब ४ करोड रुपैयाँ अनुदान लिने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले संघ सरकारबाट ९१ करोड ६५ लाख रुपैयाँ पाउने भएको छ । बुटवल र भैरहवाको बीचमा पर्ने तिलोत्तमा नगरपालिका बसाइ सराइ गरेर आउनेहरुको लागि आकर्षक ठाउँ हो । २०७८ सालको जनगणना अनुसार तिलोत्तमाको जनसंख्या १ लाख ४९ हजार रहेको छ । जनसंख्यासँगै पुँजीगत खर्च समयमै गर्न सकेकोले तिलोत्तमाले सूचक पनि राम्रो बनाएको छ ।

सूचक राम्रो बनाउँदा सूत्रमा आधारित अनुदान धरै पाउने गरेको तिलोत्तका नगरपालिकाका मेयर रामकृष्ण खाँणले बताए । ‘गत वर्ष हाम्रो पुँजीगत खर्च ७२ प्रतिशत खर्च भएको थियो । अरु पालिकाको कम थियो । जसले आम्दानी र खर्च गर्न सक्छ त्यस्तो स्थानीय निकायले सुत्रको आधारमा बढी अनुदान पाउँछन्,’उनले भने, ‘त्यसैले तिलोत्तमाले अनुदान धेरै पाएको हो ।’

यस्तै रुपन्देहीका १६ वटा पालिकाले ७ अर्ब ९० करोड रुपैयाँ अनुदान पाउने भएको छ । जस अनुसार समानीकरणतर्फ २ अर्ब ४७ करोड विनियोजन भएको छ । ससर्ततर्फ ५ अर्ब १९ करोड र विशेष अनुदानतर्फ १५ करोड ६५ लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्