Logo

पर्वतका स्थानीय तहलाई २ अर्ब ८७ करोड

पर्वत– पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षमा २ अर्ब ८७ करोड ११ लाख रुपैयाँ पाउने भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्लाका सात पालिकालाई अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत उक्त बजेट विनियोजन भएको हो । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी २ अर्ब ८७ करोड ११ लाख रुपैयाँ पाउने भएका हुन् ।

गत वर्षभन्दा आठ करोड ११ लाख रुपैयाँले बढी अनुदान विनियोजन भएको छ । विनियोजित बजेटमध्ये सवैभन्दा बढी कुश्मा नगरपालिकालाई र सबैभन्दा कम महाशिला गाउँपालिकालाई परेको छ । कुश्मा नगरपालिकालाई ६४ करोड २० लाख विनियोजन भएको छ । जसमध्ये समानीकरण अनुदान १२ करोड ६६ लाख, सशर्त अनुदान ५० करोड ५१ लाख र समपुरक अनुदान २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

फलेवास नगरपालिकालाई ५४ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये समानीकरण अनुदान नौ करोड ७८ लाख र सशर्त अनुदान ४३ करोड ८३ लाख विनियोजन भएको छ । पर्वतको मोदी गाउँपालिकालाई ४१ करोड ६४ लाख रुपैयाँ विनियोजन भएको छ जसमध्ये समानीकरण अनुदान नौ करोड ६ लाख र सशर्त अनुदान २९ करोड ७३ लाख विनियोजन भएको हो । मोदीले दुई करोड ८५ लाख समपुरक अनुदान पाएको छ ।

यस्तै जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा ३४ करोड ८० लाख रुपैयाँ बजेट पाउने भएको छ । उक्त बजेटमध्ये समानीकरणतर्फ नौ करोड ३८ लाख र सशर्त अनुदानतर्फ २३ करोड, ९७ लाख र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी बिहादी गाउँपालिकालाई ३४ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये समानीकरण अनुदानतर्फ सात करोड ६४ लाख र सशर्त अनुदानतर्फ २३ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ ।

यो पालिकालाई एक करोड ५० लाख रुपैयाँ विशेष अनुदान र दुई करोड समपुरक अनुदान अनुदान विनियोजन भएको छ । बजेटमा पर्वतको पैंयुँ गाउँपालिकालाई आगामी आर्थिक वर्षमा कुल ३० करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ । बजेटमध्ये समानीकरण अनुदान आठ करोड आठ लाख, सशर्त अनुदान २१ करोड ४५ लाख र समपुरक अनुदान ६० लाख विनियोजन भएको हो । जिल्लाको महाशिला गाउँपालिकालाई सबैभन्दा थोरै बजेट विनियोजन भएको छ । यो पालिकाको लागि कुल २७ करोड ६४ लाख विनियोजन भएको छ ।

यो बजेटमध्ये समानीकरण अनुदान सात करोड ११ लाख, सशर्त अनुदान १८ करोड तीन लाख र विशेष अनुदान एक करोड ५० लाख तथा समपुरक अनुदान एक करोड विनियोजन भएको हो । संघीय सरकारको बजेट सार्वजनिक भएसँगै जिल्लाका सातवटै स्थानीय तह आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको तयारीमा जुटेका छन् । सबै स्थानीय तहले स्थानीय तह र बस्तीबस्तीमा पुगेर योजना तथा रायसुझाव संकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्