Logo

सन्दर्भ: विश्व वातावरण दिवस

डोजरे विकासले मासिँदै वातावरण, निम्तियो संकट

जुम्ला– हरेक वर्ष जुन ५ तारिखमा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइन्छ र पर्यावरण बिग्रँदै गएकोमा चिन्ता व्यक्त गरिन्छ । तर, वातावरण संरक्षणमा भने जिम्मेवार निकायको ध्यान गएको पाइँदैन । संघीयतापछि बढेको डोजरे विकासले वातावरण बिग्रँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएका छन् । दुर्गम गाउँमा सडक पुर्‍याउनु राम्रो पक्ष भए पनि वातावरणीय प्रभाव मूल्यांकन बिना हचुवाका भरमा डोजरे विकास गरेपछि वातावरण मासिन थालेको हो ।

डोजरे विकासले वातावरण मात्र मासिएको छैन, विगतको तुलनामा सामान्य वर्षा हुँदासमेत ठूलो जनधनको क्षति हुने गरेको छ । पानीका मुहान सुक्दै गएका छन् । जुम्लामा दुई वर्षअघि असोजमा भएको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले तातोपानीको पाँच हेक्टर र तिलाको १३ हेक्टर मार्सी फाँट बगर बनाएको थियो ।
बाढीले जुम्लाकै पहिलो मार्सी धान खेती हुने तातोपानीको लाछुज्युलोको ३० प्रतिशत भाग बाँझिएको छ भने करिब १४० बढी सिँचाइ कुला भत्किएका थिए । तीमध्ये अधिकांश कुलो निर्माण भएका छैनन् । यसरी वातावरण मासिँदा निम्तिएको संकटले कृषि उत्पादन घट्नुका साथै क्षतिको जोखिम बढाएको छ ।

हरेक वर्ष विश्व वातावरण दिवसमा वृक्षरोपण गर्ने, देउडा गीत, हाजिरीजवाफ प्रतियोगिता, प्रभातफेरी लगायतका कार्यक्रम गरे पनि वातावरण जोगाउने ठोस कार्यक्रम हुन सकेका छैनन् । जुम्लामा बुधबार विश्व वातावरण दिवस तातोपानी–६ को सानीपातल सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम गरी मनाइएको छ । हरेक दिवसमा वृक्षरोपण गरिए पनि ती बिरुवा हुर्काउन कसैले ध्यान दिएको पाइँदैन ।

दिवस मनाउनुका साथै वातावरण मासिने गरी भइरहेको डोजरे विकासलाई रोक्न सरोकारवालाबाट खबरदारी हुनुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य बताउँछन् । उनले भने, ‘वातावरणमैत्री विकासमा पालिकाको ध्यानाकर्षण हुनुपर्छ । गाउँगाउँमा खनिएका सडकले सेवा दिए कि सास्ती ? विनास कति निम्त्यायो भन्ने विषयमा समीक्षा गर्नुपर्ने बेला आएको छ । अब पनि वातावरणमैत्री विकासमा जोड नदिए भविष्यमा ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

जुम्लाका ६० वटै वडाका गाउँ सडकको पहुँचमा पुगेका छन् । तर, अधिकांश सडक प्रयोगविहीन छन् । करोडौं खर्चिएर निर्माण भएका सडक प्रयोगमा नआउँदा राज्यको लगानी बालुवामा पानी जस्तै भएको छ । डोजरे विकास, मनपरि वन फँडानीलगायत कारणले पछिल्लो समय विभिन्न खाले संकट निम्तिने गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनले भने, ‘डोजरे विकाससँगै अनियन्त्रित मानवीय गतिविधिले अतिवृष्टि, वन फँडानीलगायतका कारणले वातावरण कुरुप बन्दैछ । स्थानीय तहको ध्यान बाटो बनाउनतर्फ मात्रै देखिन्छ । वातावरण संरक्षण बिना मानव अस्तित्व संकटमा पर्ने निश्चित छ । डोजरे विकास र प्लास्टिक प्रयोग अन्त्यमा सबै गम्भीर हुनुपर्छ ।’

सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले वातावरणमैत्री नीति निर्माण र वातावरणीय प्रभाव मूल्यांकनको कार्यान्वयन गरी पूर्वाधार विकास गर्न जरुरी रहेको बताए । ‘जल, जमिन, जंगलको संरक्षण विना विकासको अर्थ छैन । वातावरण संरक्षणका क्षेत्रमा समेत स्थानीय तहले लगानी बढाउन जरुरी छ,’ उनले भने । तीनै तहका सरकारले भौतिक विकाससँगै आर्थिक, सामाजिक र वातावरणीय विकासमा जोड दिनुपर्ने उनले उल्लेख गरे । वातावरण दिवसलाई औपचारिकतामा मात्रै सीमित गर्नुभन्दा वातावरण जोगाउने खालका नीति बनाउनतर्फ जोड दिनुपर्ने र स्थानीयलाई वातावरण संरक्षणका लागि अग्रसर हुन जनचेतना फैलाउनुपर्नेमा चौलागाईंले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्