Logo

ल्यापटप र ट्याब्लेटको मूल्य बढ्छ– व्यवसायी

काठमाडौं– बजारमा ल्यापटप र ट्याब्लेटको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत् ल्यापटपमा ५ प्रतिशत अन्तशुल्क लगाएको छ । यसअघि नै यसमा १३ प्रतिशत भ्याट थियो । अन्तशुल्क लाग्ने भएसँगै ल्यापटप र ट्याब्लेटको मूल्य उल्लेख्य रूपमा वृद्धि हुने व्यवसायीले बताएका छन् ।

व्यवसायीले आफूहरू सरकारको यो निर्णयप्रति असन्तुष्ट रहेको पनि बताए । मंगलबार क्यान महासंघले आयोजना गरेको ‘सरोकारवालासँग आइटी बजेटमा अन्तरक्रिया’ कार्यक्रममा व्यवसायीले सरकारको निर्णयमा असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ ।

व्यवसायीका अनुसार बजारमा हाल एक लाख रूपैयाँमा उपलब्ध हुने ल्यापटप अब एक लाख १८ हजार रूपैयाँसम्म पर्नेछ ।
ल्यापटपप तथा कम्प्युटर बिक्रेता जेनेरेसन नेक्स्टका प्रतिनिधि सरोज खत्रीले पछिल्लो समय सूचना प्रविधिको पहुँच अत्यावश्यक बनेको बताए । उनले सरकारले ल्यापटपलाई विलासी वस्तुको रूपमा लिनु गलत भएको भन्दै ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षाबाटै वञ्चित गर्न खोजेको देखिएको बताए ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले सूचना प्रविधि क्षेत्रमा जोड दिने भने पनि अन्तशुल्क लगाउने निर्णय उचित नरहेको महासंघको भनाइ छ । महासंघले सरकारले बजेटमार्फत रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समेटेको पक्षलाई स्वागत गरे पनि अन्तशुल्कको विषयमा सरकारको तर्फबाट मनन गर्नुपर्ने आवश्यकता देखिएको बताएको छ ।

ल्यापटप लगायत सूचना प्रविधिका सामग्रीमा अन्तशुल्क लगाउँदा यसले ग्राहकलाई ग्रे–मार्केट (चोर बजार) बाट सामग्री खरिद गर्न उत्प्रेरित गर्ने पनि महासंघ र व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्