चुरे विनासको असर
वर्षेनी खेतीयोग्य जमिन घट्दै
उदयपुर– चुरे क्षेत्रमा हुने वन विनासका कारण भूमिगत जलाधारमा असर पर्न गई भूक्षय र बगर बढ्दै गएपछि त्रियुगा नदी आसपासको क्षेत्रमा खेतीयोग्य जमिनको विनास हुँदै गएको छ । जमिनको विनाससँगै सिँंचाइ र खानेपानीका स्रोतमा समेत असर पर्दै गएको छ । चुरेबाट बग्ने झण्डै डेढदर्जन खोलाखहरेले सालन्य मार्ग परिर्वतन गर्दा खेतीयोग्य जमिनको विनास हुँदै गएको हो ।
खोलाखहरेको मार्ग परिर्वतनसँंगै तल्लो तटीय क्षेत्रका मानव बस्तीसमेत खतारामा पर्दै गएका छन् । परिपक्क भइनसकेको भूबनोट रहेको चुरे पहाडबाट ढुंगा, गिटी र बालुवाको दोहन हुँदा यस क्षेत्रमा वातावरणीय असर उत्पन्न भएको छ । जसका कारण मधेस, महाभारत क्षेत्र र तराईमा समेत प्रतिकूल असर परी खानेपानी तथा कृषि उत्पादनमा संकट देखापर्न थालेको किसानहरू बताउँछन् ।
माथिबाट बगेर आएका खोला खहरेबाट अनियन्त्रित गिटी बालुवाको दोहनले तल्लो क्षेत्रमा गेगर थुप्रेर खोला र नदीको सतह बढ्न गई बाढीको प्रकोप बढ्दै गएको त्रियुगा नगरपालिका–११ का उद्धव काफ्लेले बताए । नदीको केही स्थानमा सतह घट्न गई सिंँचाइलगायत खानेपानीमा समेत कठिनाइ हुँदै गएको उनको भनाइ छ ।
‘अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएका कारण वर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुक्खा समयमा खडेरी हुने गरेको छ’ काफ्लेले भने, ‘खोलाखहरेमा पानीको सतह तलमाथि हुँदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानीको समस्या दैनिक बढिरहेको छ ।’
‘चुरे क्षेत्रको वन अतिक्रमण, चोरी र तस्करीले जैविक विविधतामा असर पुगेको छ,’ स्थानीय त्रियुगा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास विष्टले भने, ‘जैविक विविधताको असरले मुख्यरुपमा चुरेमा आश्रित र चुरेसँंग प्रत्यक्ष एव परोक्ष सरोकार भएका मानव बस्तीमा असर परेको छ ।’ चुरे क्षेत्रमा पाइने जैविक जडिबुटी हर्रो बर्रो, अमलालगायतका बिरुवा विनास भइरहेका छन् ।
साललाई मात्रै काठ र अन्य सबै कुकाठका नाममा उपभोक्ता समूहले बिक्री गर्ने गरेका कारण जैविक जडिबुटी मासिँदै गएको स्थानीय उपभोक्ता बताउँछन् । जैविक जडिबुटी र अन्य सम्पदाको संरक्षण गर्न चुरे क्षेत्रमा हरियो रुख कटानमा रोक लगाइएको डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले बताए । ‘हरियो रुख कटान रोकिएपछि चुरे क्षेत्रमा केही सुधार भएको छ,’ उनले भने, ‘यो प्रयासले जैविक विविधताको संरक्षणमा केही सुधार हुन थालेको छ ।’
पूर्वपश्चिम भएर फैलिएको चुरे वन श्रृंखला उदयपुर, सिराहा र सप्तरीको सिमाना पनि हो । माथिल्लो क्षेत्रको उदयपुरतर्फ संरक्षणमा लागे पनि तल्लो क्षेत्रका सिराहा र सप्तरीबाट चुरेमा आक्रमण भइरहेकाले समस्या समाधान हुनसकेको छैन । चुरे क्षेत्रमा हुने जैविक विविधताको असर सिरहा र सप्तरी जिल्लामा परे पनि त्यहाँका स्थानीयले वास्ता नगरेको वन कर्मचारी बताउँछन् ।
चुरे पहाडमा शीर भएर बग्ने बलान, खाँडो, महुलीजस्ता खोलाले सिरहा र सप्तरीमा पनि हजारौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत गरिदिएका छन् । यति हुँदाहुँदै पनि जनचेतनाको अभावका कारण चुरेको दोहन रोकिन नसकेको सरोकारवाला बताउँछन् । उदयपुरमा भने चुरे क्षेत्रको असर वर्षेनी बढिरहेको स्थानीयको भनाइ छ । कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकाको हजारौं बिघा खेतीयोग्य जमिन वर्षेनी बगरमा परिणत हुने गरेको उनीहरूको भनाइ छ ।