मेरो पालिका
कालिञ्चोकको ध्यान पर्यटन र पूर्वाधारमा
गाउँपालिकाको विकास र सेवा गर्न जुन उत्साहका साथ दुई वर्षअघि निर्वाचनमा होमिएँ, कालिञ्चोक गाउँपालिकावासीको समृृद्धि नै मेरो मुख्य लक्ष्य हो । प्रशिद्ध पर्यटकीय स्थल कालिञ्चोक मन्दिरको नामबाट राखिएको कालिञ्चोक गाउँपालिका हो ।
कालिञ्चोकलाई बाह्रै महिना पर्यटकको रोजाइको केन्द्र बनाउनका लागि अव्यवस्थित कालिञ्चोक क्षेत्रलाई व्यवस्थित बनाउने र थप पूर्वाधार बनाउने गरी काम भइरहेको छ । जग्गाको स्वामित्वमा सरकारी निकायहरु बीचमै विवादका कारण कुरी, घ्याङडाँडा र मन्दिर छेऊमा आफूखुशी टहरा बनेका छन् । त्यसलाई व्यवस्थित बनाउने पहल थालिसकिएको छ ।
चरिकोटबाट मात्रै कालिञ्चोक पुग्ने सडक मार्ग रहेकोमा गाउँपालिकाभित्रका वडा नं. १, ५ र अन्य वडाबाट पनि सहजै पुग्न सक्ने गरी सडक निर्माणको काम जारी छ । हामी निर्वाचित भएर आउँदा गाउँपालिकाको केन्द्र विवाद उत्कर्षमा पुगेको थियो । पटक पटकको प्रयास असफल भएपछि भेगिय विवाद पनि थियो । मेरो चुनौती गाउँपालिका केन्द्र तोक्ने र स्थायी संरचना बनाउने पनि थियो । त्यो चुनौती पार गर्दै कुविण्डेमा स्थायी केन्द्र तोकिसकिएको छ भने स्थायी पूर्वाधार निर्माणका लागि पनि प्रक्रिया सुरु भएको छ ।
हिउँदमा मात्र मुस्किलले गाडी चल्न सक्ने साँघुरा सडकलाई कसरी बाह्रै महिना बिना अवरोध जस्तोसुकै गाडी चल्न सक्ने र एक वडादेखि अर्को वडाको केन्द्र र पालिका केन्द्रसम्म छिटोछरितो यात्राबाट सहज नागरिकलाई सेवा दिन दिन सकिन्छ भन्ने चुनौती थियो । दुई वर्षको बीचमा २० किलोमिटर ढलान भएको छ । सबैभन्दा दुर्गम वडा नं. १ को वडा कार्यालयबाट समेत बाह्रै महिना यातायात सञ्चालन हुन सक्ने भएको छ । सुनखानी साङवा सडकको लापिलाङ– बाबरे खण्ड १५ किलोमिटर यस वर्ष कालोपत्रे पूरा हुँदै छ । बाँकी पनि हाम्रै पालामा कालोपत्रे हुन्छ । सिंगटीदेखि घ्याङ जोड्ने सडक पक्की बनाएपछि कालिञ्चोक गाउँपालिका भित्रका मुख्य सडकहरु व्यवस्थित हुन्छन् ।
साविकका सबै स्वास्थ्य चौकी पक्की भवन र केही टाढाका बस्तीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएका छन् । सिंगटी अस्पताल १५ बेडको सञ्चालनमा रहेको छ । निःशुल्क वितरण हुने औषधी समयमा खरिद हुन्छ । स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भनेर स्वास्थ्य सेवा गाउँ टोलसम्मै पुर्याइएको छ ।
कृषि क्षेत्रको सबैभन्दा समस्याको रुपमा अहिले बाँदर आतंक, जंगली जनावर र चराले बालीनाली नष्ट गर्ने हो । यसकै कारण धेरै किसान पलायन भइसके । बाँदर नियन्त्रणका लागि विभिन्न उपाय हामीले सुरुवात गर्न खोज्यौं तर अन्तर्राष्ट्रिय कानुनमा सरकारले हस्ताक्षर गरेका कारण हामीले हाम्रो पहुँचभन्दा बाहिर भएकाले हामीले काम गर्न सकेनौं ।
कृषिमा आधुनिकीकरणका लागि कृषिमा ट्याक्टर, हलो, थ्रेसर अनुदानमा वितरण भएको छ । कृषि कारखाना खोल्नका लागि अनुदानको व्यवस्था गरेको छ, जसले रोजगारी समेत सिर्जना गर्छ । कृषि उपज संकलन र व्यापारका लागि कृषि एम्बुलेन्स र हाट बजार सुरु गरिसकेका छौं । अझै यसलाई व्यवस्थित गर्दै लैजाने योजना छ ।
पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि गाउँपालिकाले सार्वजनिक स्थल र बजार क्षेत्रमा सोलार बत्ती राखेको छ । मठमन्दिर, गुम्बा र पोखरी संरक्षणको काम गरिएको छ । खानेपानीको सुविधा घरघरमा पुर्याउने लक्ष्यका साथ सबैभन्दा सुख्खा क्षेत्र वडा नं. ३ र ४ को पोखरे, हिलेपानी क्षेत्रमा पनि खानेपानीको काम जारी छ ।
विद्यालयका पूर्वाधार अत्याधुनिक भएका छन् । अब शिक्षामा शैक्षिक गुणस्तर कसरी बढाउन सकिन्छ भन्ने ध्यान हाम्रो गएको छ । रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि काम गर्नुपर्ने जरुरी छ । चुनावका बेला धेरै सपना बाँडिए, जेजे प्रतिबद्धता गरेका थियौं, तिनलाई पूरा गर्नतिर हाम्रो ध्यान गएको छ र सोही अनुसार योजना बनाएर काम गर्दैछौं । प्रतिबद्धता अनुसारका काम गरेका छौं । हामीलाई भोट दिएका वा नदिएका भनेर विभेद गरेका छैनौं । सबै नागरिक खुशी हुने गरी काम गरेका छौं भन्ने हामीलाई लागेको छ ।
अध्यक्षः अर्जुनप्रसाद शिवाकोटी
उपाध्यक्षः कुलबहादुर बुढाथोकी
प्रमुख प्रशासकीय अधिकृतः तिलकप्रसाद रिजाल
प्रदेशः बागमती
जिल्लाः दोलखा
गाउँपालिकाः कालिञ्चोक
वडा संख्याः ९
क्षेत्रफलः १३२.४९१ वर्गकिमी
जनसंख्याः २२९५४