दश महिनामा ३१ लाख राजस्व

मुगु– मुगु जिल्ला प्रशासन कार्यालयले विभिन्न राजस्वको स्रोतबाट १० महिनामा ३१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१को साउनदेखि वैशाखसम्म उक्त रकम संकलन गरेको हो ।
संकलन भएको राजस्वमध्ये राहदानी दस्तुर ३० लाख ५५ हजार, संस्था नवीकरण तथा दर्ता दस्तुर ८२ हजार, हातहतियार नवीकरण दस्तुर ११ हजार, न्यायिक दण्ड जरिवाना दस्तुर ३ हजार, परीक्षा दस्तुर २ हजार, आन्तरिक प्रशासनिक सेवा शुल्क ५० रुपैयाँ गरी ३१ लाख ५४ हजार रुपैयाँ राजस्व उठेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले बताए ।
जिल्ला प्रशासन कार्यालयको राजस्व आम्दानी शीर्षक अनुसार नयाँ राहदानी दस्तुर ५ हजार, हराएको राहदानी लिनको लागी १० हजार, राहदानी नवीकरण गर्न ५ हजार, १० वर्ष मुनिका बालबालिकाहरूको हकमा २ हजार ५ सय रुपैयाँ दस्तुर तिर्नु पर्छ । विगत वर्षभन्दा पछिल्लो वर्षमा जिल्लामा बेरोजगारीको संख्या बढ्दै जान थालेपछि राज्यका तिनै तहबाट रोजगार मुखी कार्यक्रम नहुँनाले वैदेशिक रोजगारको लागी विदेश जानेहरूको संख्या बढी रहेकोले राहदानीबाट मात्र मात्रै ३० लाख ५५ हजार राजस्व उठेको हो ।
१० महिनामा विद्युतीय राहदानी ५९२ जना, नयाँ नागरिकता १ हजार ५८ जान, प्रतिलिपि नागरिता ८५९ जना, नावालक परिचयपत्र ७८, राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता १ हजार ५३६ जना, राष्ट्रिय परिचयपत्र बितरण ५८० जनालाई वितरण गरिएको थियो । जिल्लामा विभिन्न प्रकृतिका दैविक प्रकोपबाट पीडित भएका नागरिकलाई राहत स्वरुप १० लाख ९५ हजार रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
मुगु जिल्ला भूगोलको हिसाबले निकै ठूलो भएको हुँदा सामान्य नागरिकता लिनको लागी मुगुको मुगु गाउँबाट २ दिन, खत्याड गाउँपालिकाबाट २ दिन पैदल हिँडेर सदरमुकाम आउनु पर्ने भएको हुँदा स्थानीय नागरिकलाई निकै दुःख खेप्नु परेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा नाममा मात्रै सीमित भएको छ । गाउँ बस्तीबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संस्था दर्ता नवीकरण गराउन सदरमुकाम गमगढी आउँदा सरकारलाई तिर्नु पर्ने राजस्वभन्दा बढी एक व्यक्तिलाई ५ देखी १० हजार रुपैयाँ खर्च लाग्ने गरेको मुगुको कामारेङ गाउँपालिकाका सोनाम आग्जी लामाले बताए ।