धेरै कर तिर्न चाहन्छन बिल गेट्स

वासिङटन-अमेरिकी अर्बपति धनाढ्य बिल गेट्सले आफू जस्तो धनी मानिसले धेरै कर तिर्नुपर्ने बताएका छन् ।“मैले धेरै कर तिरेको छु । यो १० अर्ब डलर भन्दा बढी अर्थात अन्य कुनै मानिसले तिरेको भन्दा बढी छ । तर सरकारले मेरो अवस्थामा बसेका मानिसले बढी कर तिर्ने व्यवस्था गर्नुपर्छ,” माइक्रोसफ्टका सह संस्थापक अर्बपतिले बताए ।ब्लूमबर्गको अर्बपतिको सूची अनुसार गेट्स विश्वकै दोस्रो धनी मानिस हुन् । उनको सम्पत्ति ९२ अर्ब डलर रहेको छ ।
आफ्नो सम्पत्तिको आधा परोपकारी कामका लागि दिने प्रतिबद्धता जनाएका गेट्सले हालको रिपब्लिकनको कर सुधार योजनाको आलोचना गरेका छन् । यसले कर्पोरेसन र सुपर रिचले लाभ लिने वातावरणको सिर्जना गरेको उनले बताए ।“यो प्रगतीमुखी कर कानुन होइन । यो प्रतिगमनकारी कर कानुन हो,” उनले बताए । “मध्यम वर्ग र गरिबको तुलनामा धनी मानिसले यो कानुनबाट नाटकिय रुपमा लाभ लिएका छन् । यो तपाई हामीले सोचेको र हेर्न चाहेको भन्दा फरक नीति हो, जसमा हामीले सुरक्षाको अवस्था मजबुत हुनेछ र उच्च सम्पत्ति भएका मानिसले उच्च कर तिर्नुपर्ने अवस्था आउछ ।”
केही समयम अगाडि जर्ज सोरोस, स्टेभेन रकफेलर र बेन एन्ड जेरीको आईसक्रिम संस्थापक बेन कोहेन र जेरी ग्रिनफिल्ड लगायतका ४ सय भन्दा बढी अमेरिकी मिलिनियर तथा अर्बपतिले कंग्रेसलाई धनीहरुको कर कटौती नगर्न आग्रह गर्दै पत्र लेखेका थिए ।