विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रतिनिधि धम्पुसमा

पोखरा– अन्नपूर्ण दिवसको अवसरमा विभिन्न देशका राजदूतसहित कुटनीतिक नियोगका प्रतिनिधिहरु कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पदयात्रा गरेका छन् । विभिन्न देशका राजदूतसहितको टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान स्वागत गरेसँगै धम्पुसमा पर्ने धिताल गाउँ हुँदै अस्तामसम्मको पदयात्रा गरिएको हो ।
करिब ३ घण्टाको पदयात्रा गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताए । इजरायलका राजदूत गोडर गोल्डर्वगर, अमेरिकाका राजदूत फियोन र थाइल्याण्डका राजदूत चार्मीनी पाथिराना पोखरामा आएका थिए । जुन ३ अर्थात अन्नपूर्ण आरोहण दिवस । अन्नपूर्ण दिवसको अवसरमा आइतबार र सोमबार पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
अन्नपूर्ण दिवस विश्वका ८ हजार मिटर अग्ला हिमालमध्ये आरोहण गरिएको पहिलो हिमाल हो । यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा हरेक वर्ष यो जुन ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाइने गरिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलो पटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विशेष रुपमा मनाउन थालिएको हो ।