Logo

कालोपत्रे बन्दै गाउँगाउँका सडक

दाङ– कुनै समय विकासमा पछि परेको दाङको बबई गाउँपालिकामा पछिल्लो समय सडक सञ्जाल विकासले गति लिएको छ । पालिकाका विभिन्न वडामा रहेका बस्तीलाई सडक सञ्जालसँग जोड्नका लागि नयाँ ट्रयाक निर्माणसँगै पुराना सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने काम धमाधम चलेको छ ।

देश संघीय संरचनामा गएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँगाउँमा सडक पुर्‍याउनका साथै स्तरोन्नतिसहित कालोपत्रेको काम भइरहेको छ । जनताको अपेक्षाअनुसार जनप्रतिनिधिले काम गर्दा जनतालाई सहज भएको छ । सडक सञ्जालको विकासले पहिलेका विकट बस्तीका रूपमा परिचित गाउँहरू पछिल्लो समय सडक सञ्जालसँग जोडिएपछि जनतालाई हिँडडुल गर्न सहज भएको छ । गाउँका सडक स्तरोन्नतिसँगै कालोपत्रे भएपछि सहजता भएको बबई गाउँपालिका–५ निवासी स्थानीय मानबहादुर केसीले बताए ।

लामो समयपछि गाउँमा सडक कालोपत्रे हुन थालेपछि खुसी लागेको भन्दै स्थानीय केसी भने, ‘लामो समयपछि भए पनि गाउँमा सडक कालोपत्रे भएको छ । यसले जनतालाई हिँडडुल गर्न सहजतासँगै पानी पर्दा हिलो र नपर्दा धुलो उड्ने समस्या हट्ने छ ।’ खोलाहरूमा कल्भर्ट निर्माण भएकाले वर्षातको समयमा हुने यातायातको समस्या अन्त्य हुने बताए । सडकहरू राम्रो भएसँगै गाउँगाउँमा रहेका जनतालाई स्थानीय हापुरे बजारसम्म किनमेलका लागि आउन सहजता भएको उनी बताउँछन् ।

बबई गाउँपालिकामा प्रदेश सरकारको समपुरक बजेटअन्तर्गत चालु आर्थिक वर्षमा चार वटा सडक स्तरोन्नतिसहित कालोपत्रे हुँदैछन् । यीमध्ये तीनवटा सडक कालोपत्रे भइरहेको बबई गाउँपालिका पूर्वाधार शाखा इन्जिनियर राजेश देवकोटाले बताए । पूर्वाधार शाखा इन्जिनियर देवकोटाका अनुसार चालु आर्थिक वर्षमा बबई गाउँपालिकामा प्रदेश सरकार र पालिकाको आन्तरिक स्रोतअन्तर्गत चारवटा सडकको कालोपत्रे गर्ने काम भइरहेको छ ।

सडक विस्तारसँगै कालोपत्रे गरिएपछि साँघुरा, घुलाम्मे हुने गोरेटा बाटा पक्की बन्नका साथै चौडाइ हुने भएपछि स्थानीय खुसी देखिएको उनले बताए । गाउँगाउँमा सडक स्तरोन्नति, नाला निर्माण, कल्भर्ट निर्माणसँगै सडक कालोपत्रे गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार प्रदेश समपुरक बजेटअन्तर्गत ५०/५० प्रतिशतमा करिब दुई करोडको बजेटमा चारवटा सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र बबई गाउँपालिका–३ को बसपार्कदेखि घट्टे खोलासम्मको पाँच सय मिटर सडक, वडा नं. ४ को सूर्यनगर–चन्द्रनगर हुँदै विद्यानगर जोड्ने जोड्ने ५५५ मिटर सडक, वडा नं. ६ को डाँगीगाउँ कालोपत्रे सडक करिब ७६२ मिटर र वडा नंं ७ को चरकमटिया–मठ्यौरी करिब चार सय सात मिटर सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको उनले जानकारी दिए ।

बसपार्कदेखि घट्टेखोला सडक ३४ लाख ६६ हजार सूर्यनगर–चन्द्रनगर हुँदै विद्यानगर जोड्ने सडक ३२ लाख ४५ हजार र डाँगीगाउँ कालोपत्रे सडक ३५ लाख ५२ हजारमा सडक कालोपत्रे गर्नेगरी स्वर्णपुरी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको इन्जिनियर देवकोटा बताउँछन् । देवकोटाका अनुसार चरकमटिया–मठ्यौरी सडक अमृत निर्माण सेवाले करिब २९ लाख बढीको लागतमा कालोपत्रे सकेको छ ।

यी चारवटै योजनामा प्रदेश र स्थानीय तहको २५/२५ लाख गरी ५०/५० लाखका योजना भए पनि टेण्डर आह्वान गर्दा बजेट घट्न गएको उनले बताए । चालु आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहेको उनले बताए । त्यसैगरी संघीय समपुरक बजेटअन्तर्गत बबई गाउँपालिका–५ को गंगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने सडकको कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर देवकोटाले बताए ।

करिब ६५ लाख ६५ हजार रुपैयाँको लागतमा नविना कन्स्ट्रक्सनले चालु आर्थिक वर्षभित्र काम सक्ने गरी काम गरिएको उनको भनाइ छ । पानी पर्दा हिलाम्मे र घाम लागे घुलाम्मे हुने गाउँघरका सडक पक्की बने पनि स्थानीयलाई हिँडडुल गर्न सहजता भएको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री बताउँछन् ।

बबई गाउँपालिका भौगोलिक रूपमा विकटता भएका कारण सडक सञ्जाल निर्माणसँगै विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि सुधारको काम भइरहेको अध्यक्ष खत्री बताउँछन् । गाउँपालिका अध्यक्ष खत्रीले भने, ‘बबई विकासका दृष्टिले पहिले धेरै पछि परेको ठाउँ हो, तर अहिले विस्तारै विकासका काम भइरहेका छन् ।’ निर्वाचनका क्रममा जनतासँग गरेको बाचा र प्रतिबद्धताअनुसार विकास निर्माणका कार्यक्रम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्