निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव
पोखरा– बजेट कार्यान्वयन गर्दा निजी क्षेत्रसँग सहकार्य गर्न पोखराका व्यवसायीले सुझाव दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको बजेट सम्बन्धी छलफलमा सहभागीहरुले संघीय सरकारले हालै ल्याएको बजेट कार्यान्वयन गर्दा निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा जोड दिएका हुन् ।
अघिल्लो वर्षको तुलनामा एक खर्ब १५ अर्ब बढी बजेट आए पनि केही व्यवसायी र रोजगार मुखी बजेट भएकोले त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण भएको व्यवसायीहरुले बताए । गण्डकी प्रदेशका आर्थिक मामिला सचिव पुरुषोत्तम शर्माले प्रदेशको असार १ गते आउने बजेटमा निजी क्षेत्रमैत्री बजेट आउने बताए । संघीय सरकारले ल्याएको बजेटको आधारमा अब प्रदेशमा कार्यान्वयन गर्न सक्ने गरी आफूहरुले बजेट ल्याउने उनको भनाइ थियो ।
प्रदेशको आन्तरिक राजस्व वृद्धि गर्न नसक्दा प्रशासनिक खर्च धान्न र पुंजीगत खर्च बढाउन कठिन हुने गरेको सचिव शर्माले बताए । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बजेटले आयकर तथा मूल्यअभिवृद्धि करमा केही छुट प्याकेज ल्याएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले देशमा आर्थिक मन्दीले व्यवसाय प्रभावित भएको अवस्थामा बजेटले व्यवसायलाई प्रवर्द्धन हुने स्पष्ट नीति नआएको गुनासो गरे ।
युवा परिचालन तथा युवा स्वरोजगार जस्ता कार्यक्रममा एक अर्बको बजेट विनियोजन भएकोले त्यसको कार्यान्वयनको लागि व्यवासीहरुसँग बुँदागत रूपमा छलफल गर्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा करिब १२० जना चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको प्रदेश संघ गण्डकीका प्रमुख अनिल लामिछानेले बताए ।