‘श्रमाधान रोजगार मेला’को पाँच हजार बढीले गरे अवलोकन
एक हजार ५ सय जनालाई निम्ता
विराटनगर– विराटनगरमा आयोजित ‘श्रमाधान रोजगार मेला’को पाँच हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेलामा युवाको आकर्षण बढी देखिएको थियो । देशका सातै प्रदेशमा जारी मेलाको उद्घाटन विराटनगरस्थित सिटी प्यालेसमा राखिएको थियो । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन भएको मेलामा पाँच हजारभन्दा बढीले अवलोकन गरेका थिए । दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब दुई हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार ४९५ गरी दुई हजार ५३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने २५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् ।
मेलास्थलमा आएकामध्ये १५ सय आकांक्षीलाई कार्यस्थलसम्म आएर बाँकी प्रक्रिया पूरा गर्न रोजगारदाता कम्पनीले आह्वान गरेका हुन् । रोजगार आकांक्षी र रोजगारदाताबीच प्रत्यक्ष भेटघाटको अवसरका क्रममा औद्योगिक प्रतिष्ठानका लागि आवश्यक कामदारको बढी माग भएको छ । सुनसरीको रिलायन्स स्पिनिङ मिल्स प्रालिले मात्रै एक हजार ५० जना कामदारलाई रोजगार दिइने भन्दै आकांक्षीहरूलाई सम्पर्कमा आउन भनेको छ ।
यस्तै रघुपति जुट मिल्सले पनि विवरण भरेकालाई सम्पर्कमा आउने आग्रह गरेको छ । रिलायन्स मिल्सले मेसिन अपरेटर ९७५, प्राविधिक सहयोगी १५०, जेनरल स्टाफ एण्ड असिस्टेन्ट २५ जनाको विवरण मन्त्रालयका अधिकारीसमक्ष पठाएको छ । सरकारले २४ घण्टा नै विद्युतको आपूर्ति उद्योगमा गरिदिने वातावरण निर्माण गरे रोजगार मेलामा आएकाको व्यवस्थापन गर्न उद्योग प्रतिष्ठान तत्काल तयार हुने बताइएको छ । रोजगार मेला निजी क्षेत्रसम्बद्ध संघ तथा संगठनले समेत लगाउँदै आएका छन् ।
यद्यपि सरकारले यस पटक लगाएको मेलामा सीपमूलक तालिमको अवसर लिनका लागि आउनेको संख्यासमेत उत्तिकै मेलाको संयोजन गरेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सात वटा स्टल राखिएका थिए ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजक थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए । अध्यक्ष राउतले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको रोजगार मेला निकै फलदायी देखिएको दाबी गरे । ‘मेलामा आउनेहरुले केही न केही आशा राखेर आएकाले त्यसको सम्बोधन गर्न तीन तहका सरकार र निजी क्षेत्रबीच थप सहकार्य बढाउँदै लानु जरुरी देखियो,’ उनले भने । ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित सरकारले गर्ने घोषणा गरेसँगै निजी क्षेत्र उत्साहित समेत देखिएको छ ।