जुम्लामा मार्सीधान रोपाइँको चटारो
जुम्ला– जुम्लाका किसानलाई मार्सीधान रोप्ने चटारो सुरु भएको छ । जुम्लाका सिंजा, पानसय तथा चौधिबीस क्षेत्रमा किसानलाई धान रोप्ने चटारो लागेको हो । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा धान रापेपछि जुम्लामा धान रोप्न सुरु भएको थियो । यहाँको गुठिचौर गाउँपालिका क्षेत्रमा भने धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
जुम्लामै पहिलो मार्सिधान खेती सुरु भएको लाछु ज्युलोमा भने अझै धान रोपाइँ सुरु भएको छैन । जुम्ला तातोपानी गाउँपालिकामा अवस्थित लाछु ज्युलोमा सिँचाइ अभावले धान रोपाइँमा ढिला भएको हो । बाढीले सिँचाइ कुलो बगाएपछि रोपाइँमा ढिलाइ भएको किसान बताउँछन् । जुम्लामा पहिलो पटक धान रोपिएको खेतलाई ‘गुरुफोक्टो’ भनिन्छ । घना जंगल रहेको उक्त क्षेत्रमा लछालकृति पैकलाले धानखेती सुरु गरेपछि विस्तारै जंगल मार्सीफाँट बनेको तातोपानी गाउँपालिका–२ का स्थानीय अगुवा धनबहादुर बुढाले बताए ।
उनले भने, ‘जिल्लाभर रोपाइँको चटारो लागेको छ । तर लाछु ज्युलोका खेत अझै सुक्खै छन् । ०८९ सालको बेमौसमी बाढीले ज्युलाको आधी भाग बालुवा र टापुमा परिणत भएको छ । सिँचाइ पुर्याएर धान रोप्ने तयारी छ ।’ त्यस्तै तातोपानी–२ कै जर्मी, डाँगीबाडा र सुन्दरगाउँका किसानले रोप्दै आएको ज्युलोमा भने अझै धान रोपाइँ सुरु भएको छैन । त्यहाँको कुलो पनि विभिन्न ठाउँमा भत्किएकाले किसान कुलो पुनिर्निर्माणमा जुटेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जुम्ली मार्सीधानको खेती भने बढेको छैन । विभिन्न प्राकृतिक विपत्तिले मार्सीखेतीमा गिरावट ल्याएको छ भने उत्पादन पनि क्रमिक रूपमा घट्दै गएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लाकाकुल २९ सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ । १४ सय हेक्टरमा स्थानीय जातको मार्सीधान खेती भइरहेको छ भने बाँकी क्षेत्रमा उन्नत जातको धान खेती भइरहेको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा मार्सीधानको उत्पादन वृद्धि र संरक्षणका लागि कार्यालयले विभिन्न काम गरिरहेको बताए । किसानलाई उन्नत बीउ मल, विषादी प्रयोगमा निरुत्साहित गर्न जनचेतना अभिवृद्धिको काम गरिरहेको उनको भनाइ छ ।
जुम्लामा थोरै मेहनत गरेर उत्पादन बढाउने लोभमा लुकिछिपी ब्युटाक्लोर प्रयोग गर्नाले क्षणिक उत्पादन बढे पनि दीर्घकालीन असर परेको छ । स्थानीय सरकार, कृषि विकास कार्यालयले ब्युटाक्लोर प्रयोगमा रोक लगाएका छन् । असिना पानीसँगै बेलाबेलामा जुम्लाको मार्सीधानमा लाग्ने विभिन्न खाले रोगको प्रकोपले उत्पादन मात्र घटेको छैन । माटोको उर्वरा शक्तिसमेत घट्दै गएको छ ।