Logo

अध्यात्मिक गतिविधिले बढ्न सक्छ लुम्बिनीमा पर्यटकको बसाई

भैरहवा– बुद्धजन्मस्थल लुम्बिनी र वरपरका क्षेत्रमा आउने पर्यटकको बसाई अवधि मुस्किलले एक रात हुने गरेको छ । स्वदेशी तथा भारतीय वा तेस्रो मुलुकबाट आउने पर्यटक पनि धेरै टिकाउन लुम्बिनीमा समस्या छ । त्यहाँ भ्रमणमा आउने अधिकांश सेम डे पर्यटक रहेका छन् भने केही मात्र लुम्बिनी बास बस्छन् ।

त्यहाँ आएका पर्यटकको बसाई अवधि नबढ्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय चलायमान हुन सकेको छैन । लुम्बिनीमा पर्यटक बढाउन धेरै बहस कार्यक्रम आयोजना हुन्छन् तर, कार्यान्वयन पक्ष फितलो हुँदा भनेजस्तो हुन सकेको छैन । लुम्बिनी क्षेत्रका पर्यटन सरोकारवालाले त्यहाँ अध्यात्मिक गतिविधि नियमित रूपमा भए पर्यटकको बसाई अवधि बढाउन सकिने बताएका छन् । अध्यात्मिकसँगै अन्य पर्यटकीय गतिविधि बढेमा लुम्बिनी आउने पर्यटकको बसाई कम्तिमा दुई दिन भए पनि बढाउन सकिन्छ ।

हरेक पूर्णिमाका दिन फूल मुन प्रेयर कार्यक्रम, मोल्हाम पूजा, त्रिपिटक पाठ, अन्य विभिन्न अध्यात्मिक गतिविधि आयोजना गरी बढी भन्दा बढी पर्यटक भित्र्याउने मात्र नभइ उनीहरूको बसाई अवधि पनि लम्ब्याउन सकिने अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक एवं अध्यक्ष भिक्षु मैत्रेयको भनाइ छ । श्रीलंकामा हरेक पूर्णिमाका दिन फूल मुन डे मनाउन सरकारी बिदा हुने गर्छ । लाखौं मानिस पूर्णिमाको दिन त्यहाँ रहेका बुद्ध स्तुपा, गुम्बामा प्रार्थनालगायतका काममा व्यस्त हुन्छन् ।

‘हामीले पनि लुम्बिनी र यहाँका अन्य कपिलवस्तु, देवदहका विभिन्न बुद्धिष्ट क्षेत्रमा फूल मुन डे मनाउने कार्यक्रम नियमित रूपमा गर्न सके देश विदेशबाट पर्यटक आउन सक्छन्’ लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली भन्छन्, ‘लुम्बिनीमा पर्यटकको आवागमन बढाउन र उनीहरूको बसाई अवधि बढाउन अध्यात्मिक गतिविधि हुनु जरूरी छ । यसलाई लुम्बिनी विकास कोषले गंभिरतापूर्वक लिनु पर्छ ।’

मायादेवी मन्दिर कम्तिमा रातको १० बजेसम्म खोल्न सकेमात्र पनि पर्यटकको लुम्बिनी बसाइ अवधि लम्बिनी उनी बताउँछन् । कोरोना अघि एक लाख ५० हजार भन्दा बढी विदेशी पर्यटक लुम्बिनी पुगेका थिए । त्यसमा मुस्किलले केही पर्यटकले मात्र त्यहाँ रात कटाउने गरेको व्यवसायीहरूको भनाइ छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई भुलाउने वातावरण लुम्बिनी भैरहवा क्षेत्रमा हुने हो भने पर्यटकको बसाई अवधि बढ्ने सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ ।

अध्यात्मिक गतिविधिसँगै लुम्बिनी वरपरको ग्रामीण क्षेत्रमा भ्रमण, चरा अवलोकनको व्यवस्था, तेलार नदिमा सरसफाई गरी बोटिंगको व्यवस्था, लुम्बिनी, तिलौराकोट, कुदान, गोटिहवा, निग्लीहवा, सैनामैना हँदै देवदह, रामग्रामबाट भैरहवा हुँदै पुनः लुम्बिनी, ग्रामीण क्षेत्रमा साइकल सफारी, अध्यात्मिक खेलकुद लुम्बिनी पिस म्याराथन, प्याडल फर पिस, साप्ताहिक ध्यान कार्यक्रम, गौतमबुद्ध घर फर्केको दिन होली पूर्णिमामा कुदानमा विशेष कार्यक्रम, मायादेवी सुत्केरी मार्गमा पदयात्रा, नजिकैको गैडहवा र गजेडी तालको भ्रमण जस्ता दर्जनौ कार्यक्रम नियमित रूपमा आयोजना गर्न सके लुम्बिनी आउने पर्यटकको बसाई अबधि बढाउन सकिने छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले पहिलाको तुलनामा अध्यात्मिक गतिविधि बढदै गएको बताए । कोषले पनि अध्यात्मिक र अन्य पर्यटकीय गतिविधिमा जोड दिइरहेको बताए । बुद्ध धर्मसँग सम्बन्धित विभिन्न अध्यात्मिक कार्यक्रमलाई बढी महत्व दिई अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गर्न सके धेरै विदेशी पर्यटक आउन सक्छन् र उनीहरूको बसाई अवधि लम्ब्याउन सकिन्छ ।

त्यस्तै गरी स्थानीय बिराहा नाच, बौद्धकला संस्कृति झल्काउने नाट्यशालामा प्रदर्शन, बुद्ध जीवनीमा आधारित विभिन्न पूर्वाधार निर्माण भएमा पनि पर्यटक बढी तान्न सकिने लुम्बिनी पिस म्याराथनका संस्थापक एवं कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले बताए । मायादेवी सुत्केरी मार्गको प्रचार प्रसार गरी प्रवद्र्धनमा जोड दिनु पर्ने पाँडेकाजीको भनाइ छ ।

बुद्धको कुनै सम्बन्ध नरहेका हङकङको लान्ताउ, श्रीलंकाका विभिन्न शहर, थाइल्याण्डको फुकेट, बर्मा, इण्डोनेसियाको बोरोबदुर र तमन लुम्बिनीलगायतका क्षेत्रमा वार्षिक लाखौंको संख्यामा पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । लान्ताउ र फुकेटमा बुद्धको ठूलो मूर्ति छ । इण्डोनेसियाको बोरोबदुरमा विश्वकै ठूलो बुद्ध स्तुप छ । श्रीलंकामा बुद्धलाई पवित्र भगवानको रूपमा पुजा गरिन्छ । त्यहाँ धेरै बुद्ध मूर्ति र स्तुप छन् । केण्डिमा बुद्धको अस्तिधातु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्