कास्की– २ मा २१ जना मैदानमा «

कास्की– २ मा २१ जना मैदानमा

पोखरा-कास्की–२ को उपनिर्वाचनमा २१ जना उमेदवारले भाग लिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्कीले २१ जना उमेदवार कायम भएको जानकारी दिएको छ ।
२१ गतेको मनोनयनमा २२ जनाको उमेदवारी दर्ता भए पनि एकजना स्वतन्त्र उमेदवारले भने उमेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार स्वतन्त्र उमेदवार पुरुषोत्तम खनालले उमेदवारी फिर्ता लिएका हुन् । आइतबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय राखिएकोमा खनालले मात्र फिर्ता गरेको कार्यालयले जनाएको छ ।
यस्तै, उपनिर्वाचनमा ११ राजनीतिक दल र १० जना स्वतन्त्र उमेदवारले भाग लिने भएका छन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट १३ जनाको उमेदवारी परेको थियो । उमेदवारमध्ये ६ जना कास्कीभन्दा बाहिरका हुन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उमेदवार बनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा ओरालेको छ । समाजवादी पार्टीले सो क्षेत्रबाट धर्मराज गुरुङलाई उमेदवार बनाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, साझाले रजनी केसी, नेपाल कम्युनिष्ट पार्टी (माले) ले टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गंगा मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीले पूर्णबहादुर राना, नेपाली कांग्रेस (विपी) ले चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले उमेदवारी दिएका छन् ।
विवेकशील पार्टीबाट जमुना शर्मा उमेदवार बनेकी छन् । यसैगरी स्वतन्त्रमा उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसालले उमेदवारी दर्ता गरेका छन् ।
रमेश गिरी

 

प्रतिक्रिया दिनुहोस्