२०१७ का चर्चित १० कार ब्रान्ड

संसारकै सबैभन्दा ठूलो इन्टरनेट सर्च इन्जिन गुगलले २०१७ मा विश्वभरबाट खोजी गरिएका कार ब्रान्डहरूको सूची सार्वजनिक गरेको छ । यो वर्ष धेरै चर्चामा हुने आकुरालगायत ब्रान्डहरू अग्रपंक्तिमा भने आउन सकेनन्, यद्यपि ती ब्रान्डहरू मुख्य १० को सूचीमा भने अटाउन सफल भएका छन् । ती कार ब्रान्डको सूची यस्तो छ:
फोर्ड
अमेरिकी कार कम्पनी फोर्ड २०१७ मा सर्वाधिक खोजी हुने कार ब्रान्डको सूचीमा पहिलो स्थानमा रहेको छ । फोर्डले अटोनोमस तथा विद्युतीय कारमा पछिल्लो समय व्यापक लगानी विस्तार गरेको छ । कम्पनीले सवारी प्रविधिको विकासमा पनि निक्कै लगानी बढाएको जनाइएको छ । यी र यस्तै कारणले फोर्ड गुगलमा खोजी हुने कार ब्रान्डको पहिलो नम्बरमा पर्न सफल भएको गुगलले जनाएको छ । फोर्डको न्यू जीटी कार हालसम्मकै उत्कृष्ट कारका रुपमा रहेको छ ।
लेक्सस
यो वर्ष कार ब्रान्ड लेक्सस सबै हिसाबले उकृष्ट देखिएको गुगलले उल्लेख गरेको छ । लेक्सस सर्वाधिक खोजी हुने कार ब्रान्डको दोस्रो स्थानमा पर्नुमा यो ब्रान्डले ल्याएको हाइब्रिड टेक्नोलोजी र फस्ट–क्लास स्पोर्टस् कार भएको गुगलले जनाएको छ ।
किया
कोरियाली कार उत्पादक कम्पनी किया गुगलको धेरै खोजी हुने कार ब्रान्डको तेस्रो स्थानमा रहेको छ । २०१७ मा कियाका कार र कन्सेप्टले धेरै मानिसलाई मोहित तुल्याएको गुगलले उल्लेख गरेको छ । कियाका कार एफोर्डेबल र जिरो हाइब्रिड कार बजारमा आएका छन् ।
टोयोटा
टोयोटा जापानी कार उत्पादक कम्पनी हो । टोयोटा गुगलको सर्वाधिक खोजी हुने कार ब्रान्डको सूचीमा चौथो स्थानमा रहेको छ । टोयोटा २०१८ प्रति निक्कै आशावादी रहेको जनाइएको छ । कम्पनीले कन्सेप्ट कारसहित भविष्यको लागि धेरै सोचिरहेको देखिन्छ । टोयोटाले हावारहित टायरको समेत परिकल्पना गरेको छ ।
होन्डा
किल्ली ब्लू बुक होन्डाको नयाँ सिभिक इएक्स कार बिग प्यान रहेको जनाएको छ । जापानी कार निर्माता होन्डा गुगलको सूचीमा पाँचौं स्थानमा रहेको छ ।
ब्यूक
अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर अन्तर्गतको कार ब्रान्ड ब्यूक गुगलको सर्वाधिक खोजिने ब्रान्डको सूचीमा छैटौं स्थानमा रहेको छ । उपभोक्तामाझ गरिएको वार्षिक विश्वसनियता सर्भेबाट ब्यूकले ठूलो सफलता हासिल गरेको थियो २०१७ मा । २०१६ मा विश्वसनिय कार ब्रान्डको सातौं स्थानमा रहेको ब्यूक गत वर्ष तेस्रो स्थानमा आइपुगेको छ ।
अकुरा
अकुरा जापानी कार निर्माता कम्पनीको विलासी कार ब्रान्ड हो । यो कार ब्रान्ड सर्वाधिक खोजी हुनेको सूचीमा सातौं स्थानमा रहेको गुगलले उल्लेख गरेको छ । आकुराको टीएलएक्स ए–स्पेकबाट धेरै मानिस मोहित भएका छन् । यो मोडललाई फेवरेट कारका रूपमा समेत लिइएको छ ।
टेस्ला
टेस्ला अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी हो । टेस्लाले २०१७ मा आफ्नो मोडल–थ्रीमा केही समस्या झेलेको भए पनि गुगलको सर्वाधिक खोजिने कार ब्रान्डको आठौं नम्बरमा पर्न सफल भएको छ । तथापी टेस्लाले ल्याएको इलेक्ट्रिक सेमि–ट्रक, न्यू रोडस्टारले थप चर्चा बटुलेको थियो ।
हुन्डाई
कोरियाली कार निर्माता कम्पनी हुन्डाई पनि गुगलको धेरै खोजी हुने कार ब्रान्डको सूचीमा पर्न सफल भएको छ । हुन्डाई नवौं स्थानमा रहेको छ । हुन्डाईले भविष्यमा सेमि अटोनोमस ड्राइभिङ प्रणालीको विकास गर्न लागेको चर्चा ज्यादै रहेको छ । त्यस्तै हुन्डाईले हाइड्रोजन–पावर्डयुक्त लक्जरी जिनेसिस ब्रान्डको कन्सेप्ट सार्वजनिक गरेको थियो ।
डाज
अमेरिकी कार ब्रान्ड डाज गुगलको सर्वाधिक खोजी हुने कार ब्रान्डको सूचीमा दशौं स्थानमा रहेको छ । डाजले ल्याएको २०१८ च्यालेन्जर एसआरटी डेमोनले चर्चा बटुलेको छ । यो कारमा अत्यन्त शक्तिशाली भी–एट इन्जिन प्रयोग भएको कम्पनीले जनाएको छ ।
(बिजनेस इनसाइडर)