मेरो पालिका
खनियाबासमा ‘एक घर एक स्नातक’ अभियान

धादिङको उत्तरी क्षेत्रमा अवस्थित साविकका तीन गाविस दार्खा, झार्लाङ र सत्यदेवीलाई गाभेर खनियाबास गाउँपालिका बनेको हो । यस गाउँपालिकाको पूर्वमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र नुवाकोट जिल्ला अवस्थित छन् ।
यस गाउँपालिकाको केन्द्र वडा नं.४ स्थित दार्खामा रहेको छ, जुन जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ३६ किमि दुरीमा रहेको छ । गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता छ भने गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामी आदि जातजातिको समेत बसोबास रहेको छ । भौगोलिक रुपमा अति दुर्गम तथा जटिल भू–बनोट भए पनि यस गाउँपालिकामा जिल्ला सदरमुकाम धादिङबेसीदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरी कच्ची सडक निर्माण भइसकेको साथै गाउँपालिकाको अधिकांश बस्तीमा पुग्ने कच्ची सडकको ट्रयाक खुलेको छ ।
स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आफैंले गाउँसभाबाट ऐनकानुन, नीति तथा कार्यक्रम र बजेट स्वीकृत गराई कार्यान्वयनको चरणमा लैजाने भएकाले गाउँपालिकाले दिर्घकालिन योजना बनाउनुपर्ने महशुस गरी शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नीति तथा कार्यक्रमबाट गाउँपालिकाले गर्ने वार्षिक कार्यक्रमहरुको प्राथमिकिकरण र बजेट व्यवस्था गरिसकेका छौं । हाम्रो वार्षिक कार्यक्रममा प्राथमिकीकरणमा परेका कार्यक्रमहरुमा शिक्षा, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, विपद् व्यवस्थापन, सुशासन तथा सार्वजानिक सेवा, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातारण संरक्षण रहेका छन् ।
दोश्रो पटक निर्वाचित भएपछि ‘एक घर एक स्नातक’ अभियान सञ्चालनका लागि नीलकण्ठ बहुमुखी क्याम्पससँग साझेदारी गरेर पठनपाठन गरिरहेका छौं । निकै पहिले कक्षा १२ उत्तिर्ण गरेर बसेकाहरु पनि अहिले स्नातक अध्ययनरत हुनुहुन्छ । केही जिल्ला सदरमुकाम धादिङवेसी बसेर पढिरहेका छन् । केही गाउँमै बसेर अनलाइन क्लास लिइरहेका छन् । बच्छला माविमा पनि कक्षा सञ्चालन गरेका छौं । सबैलाई स्नातक शिक्षा दिने दिर्घकालिन योजना रहेको छ । शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भनेर काठमाडौं विश्वविद्यालयका प्रोफेसरहरुसँग पनि परामर्श लिएका थियौं । बाल कक्षा औपचारिक शिक्षाको प्रवेश विन्दु भएकाले यसलाई कसरी सिकाइमूलक बनाउन सकिन्छ भनेर थाइल्याण्डको कालोङसाम नगरपालिकासँगको सहकार्यमा १६ जनाका लागि ४८ दिने तालिम गर्न गइरहेका छौं । २०७८ को जनगणनाले देखाएको ५९.६ प्रतिशत साक्षरता प्रतिशतलाई अबको केही वर्षमा शतप्रतिशत बनाउन काम गरिरहेका छौं ।
स्वास्थ्य सेवालाई पनि जनस्तरसम्म सहज रुपमा पुर्याउन एक ग्रामीण अस्पताल सञ्चालन गरी सेवा प्रवाह गरिरहेका छौं । अस्पतालमा एक जना एमबीबीएस डाक्टरको व्यवस्था गरिएको छ । दुईवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाइबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । स्वास्थ्य तथा सरसफाइमा सुधार गर्न २०८३ सम्ममा पूर्ण सरसफाइ पालिका घोषणा गर्ने कार्ययोजना बनाई राष्ट्रिय योजना आयोगबाट ४ करोड ९९ लाख विशेष अनुदान प्राप्त गरी काम गरिरहेका छौं । खानेपानीको लागि गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरेका छौं । एक घर एक धारा निर्माण गरी मिटर प्रणालीबाट खानेपानी वितरण गरेका छौं ।
स्वरोजगार सिर्जना गरी युवालाई गाउँमै रोक्न नगदे बालीहरुको प्रवद्र्धन गर्न शुरु गरेका छौं । चिया तथा कफी विकास बोर्डसँग निरन्तर छलफलमा छौं । चिया र कफी खेतीका केही कामहरु अघि बढेको छ । अहिले दुई हजार कफीका बोटबाट उत्पादन भइरहेको छ । ७० हजार बिरुवा नर्सरीमा छन् । हेफर इन्टरनेशनलसँगको सहकार्यमा अकबरे खुर्सानी खेती गर्न थालिएको छ । चिया र कफीमा पनि साझेदारी छ । उत्पादनशिल युवालाई गाउँमै आयआर्जन र रोजगारीका काम शुरु गरेका छांै । आयआर्जन र रोजगारीसँग जोडिएको अलि धेरै लगानी गर्नुपर्ने क्षेत्र पर्यटन पनि हो । यो हाम्रो पालिकामा सम्भावना छ र काम गर्दै पनि छौं । कुरी र राउतेमा होमस्टे बनाउने काम शुरु भएको छ । तातोपानी कुण्डलाई व्यवस्थित बनाउन प्रतिक्षालय, शौचालय, कपडा फेर्ने कक्ष बनाउने योजना रहेको छ ।
सडक पूर्वाधार अलि खर्चिलो क्षेत्र तर अनिवार्य गर्नुपर्ने काम हो । धादिङवेशीबाट पालिका कार्यालयसम्म यसपालिबाट बर्खायाममा पनि पुग्न सकिन्छ । किन्ताङफेदीमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याएका छौं । सबै वडाका बस्तीमा कच्ची सडक पुगेको छ । वडा नं. २ को चुङमा आउँदो फागुनसम्ममा सडक पुर्याउन काम भइरहेको छ । अब सडकको स्तरोन्नति गर्ने काममा लाग्छौं । पालिका कार्यालयसम्म संघीय सरकारले कालोपत्रे गर्ने भनिएको थियो तर भएको छैन ।
कृषि विकास तथा पशुपालन क्षेत्रमा पनि काम भइरहेको छ । यस क्षेत्रमा बजेट नै कम छ । पशुपालनलाई व्यावसायिक बनाउन पहल शुरु गरेका छौं । भेडापालन गर्ने किसानलाई खर्कमा चाहिने त्रिपाल उपलब्ध गराएका छौं । भेडापालन व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन पहल गरेका छौं । कृषि बालीतर्फ पनि किसानलाई अनुदान दिने र प्राविधिक सेवाहरु दिइरहेका छौं । पछिल्लो समय कर्मचारी संख्या वृद्धि भएको छ, तर पर्याप्त छैन । पालिकाले पनि व्यवस्थापन गरेर काम गरिरहेका छौं ।
प्रदेशः बागमती
जिल्लाः धादिङ
गाउँपालिकाः खनियाबास
वडा संख्याः ५
अध्यक्षः रणबहादुर तामाङ
उपाध्यक्षः सेक्केमान तामाङ
निमित्त प्रमुख प्रशासकीय अधिकृतः नवराज श्रेष्ठ
कार्यालयः दार्खा
जनसंख्याः १०२८७
क्षेत्रफलः १२०.८ वर्गकिमी
प्रस्तुतिः राजेन्द्र बस्नेत