Logo

मानव पुँजी व्यवस्थापनमा उत्पादन अभिवृद्धि

मानव पुँजी ज्ञानको त्यस्तो अजस्र भण्डारण हो जसमा ज्ञान, सीप, दक्षता एवं सुस्वास्थ्यले भरिएको जमातले आफ्नो उच्चतम क्षमता–दक्षताको प्रदर्शन गर्दै उत्पादनको क्षेत्रमा अमूल्य पसिना र शिल्पले सिन्चेर परिणाममुखी उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिन सकिन्छ, जसका लागि आवश्यक पर्ने स्रोतको पहिचान हुनु अत्यन्त जरुरी हुन्छ । किनकि स्रोतबिनाको लगानीबाट उचित प्रतिफल हासिल गर्न नसकिने गहन तथ्यगत विशेषतालाई अवश्य पनि भुल्न मिल्दैन ।

जसको यथोचित विकासका लागि शैक्षिक गुणस्तरको भूमिकालाई कुनै पनि हालतमा पृथक् राखेर अब्बलताको चाहना राख्नु कदापि पनि बुद्धिमानी कदम होइन । शैक्षिक ज्ञानरूपी भण्डारणले सम्बद्ध क्षेत्रको व्यक्तित्व विकास गर्ने सन्दर्भमा आवश्यक पर्ने मानवमनका अन्तरचक्षुलाई उघार्न सहयोग पुर्याउनेछ भन्ने विश्वास लिन सकिनेछ । परिणामतः सही–गलतको आवश्यक पहिचान गर्दै नयाँ रोजगार, स्वरोजगार एवं सीप दक्षताको उचित प्रयोग गर्दै दिइएको कामप्रतिको कर्तव्यपरायणता एवं बफादारिताको सम्मिश्रणलाई समयसापेक्ष सुधार–समायोजन गर्दै उत्पादनको गरिमा वृद्धि गर्न लगानीयोग्य वातावरणको श्रीवृद्धिमा सहयोग पुर्‍याउनेछ भन्दा त्यति फरक नपर्ला ।

उत्पादनको क्षेत्रमा कायम रहने स्वस्थ मानव पुँजी विकासले मात्र सम्बद्ध क्षेत्रको गतिशीलतालाई सफल लक्ष्यउन्मुखताको मार्गतर्फ डोर्‍याएर लैजान सक्ने भएकाले दक्ष श्रम अवधारणाको विकास नै उत्पादकीय क्षमता प्रवद्र्धनको मूल केन्द्र बिन्दुसमेत हो । यद्यपि एक्काइसौं शताब्दीको प्रविधिमैत्री उत्पादनको क्षेत्रमा समेत मानव पुँजीको महत्तालाई न्यून मूल्यांकन गर्न मिल्दैन । उत्पादनयोग्य क्षेत्रमा अन्यत्रबाट स्थानान्तरण रहने अब्बल प्रतिभा विकासलाई सही रूपमा पहिचान गरी परिचालन गर्ने हो भने न्यून लागत खर्चमा पनि अत्यधिक लाभको सम्भावना विकास अद्यावधि जीवन्त रहेको पाइन्छ । जुन मुनाफा आर्जनका लागि उपयुक्त वातावरणसमेत रहन सक्ने तथ्यगत विशेषतालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

जसका लागि सूचनामैत्री अवधारणाको विकासलाई चुस्तदुरुस्त पार्दै लैजानुपर्ने हुन्छ । निर्दिष्ट सूचनाको अभावमा उत्पादनका लागि चाहिने आवश्यक स्रोतको व्यवस्थापन गर्न निकै नै कठिनाइ उत्पन्न हुन जाने देखिन्छ । विशेषतः विकासोन्मुख राज्य व्यवस्थामा कायम रहेको उच्चदरको जनसंख्या वृद्धिको चापले सम्बद्ध पुँजी व्यवस्थापनको क्षेत्रमा समेत जटिलता थप्ने गरेको यस क्षेत्रका जानकारहरूको बुझाइ रहँदै आएको पाइन्छ । परिणामतः अब्बल पुँजी निर्माणको स्तर निर्धारण गर्ने जस्तो अत्यन्त संवेदनशील कार्यमा समेत केही हदसम्म कठिनाइ उत्पन्न हुने भएकाले उत्पादनको क्षेत्रमा समेत यदाकदा ऋणात्मक असर पर्न गई घाटा व्यवस्थापनको सहन गर्नुबाहेक अर्को कुनै आर्थिक सुधारको लक्ष्य प्राप्त हुन सक्ने अवस्था रहनेछैन ।

किनकि प्रस्तुत प्रवृत्तिको पुँजी व्यवस्थापनको उचित प्रतिफल निश्चित रूपमा दीर्घकालीन अवस्थापश्चात् मात्रै उत्पादनमुखी कार्यका लागि योग्य रहने गरेको पाइन्छ । यद्यपि व्यवस्थापन पक्षको कमी–कमजोरीका कारण कुनै समस्या उत्पन्न भए दीर्घकालीन अवस्था हेतु खर्चिएको मानव पुँजी लगानीले आशातीत परिणाम दिन नसक्ने निश्चित छ ।

जहाँ समान कामका लागि समान पारिश्रमिक भन्ने तथ्यसमेत कहिलेकाहीँ लैङ्गिक विभेदका कारण सही व्यवस्थापन हुन नसक्दा सोको प्रत्यक्ष ऋणात्मक असर अन्ततः उत्पादनको क्षेत्रमा नै रहने भएकाले प्रस्तुत व्यवहारको विकास औद्योगीकरणका लागि त्यति सुहाउँदो कदम भने पक्कै पनि होइन भन्दा हामीहरू कसैको पनि भिन्न मत नरहला । यसका साथै उच्चदरको बौद्धिक प्रतिभा पलायनको अभिवृद्धिले सोही प्रवृत्तिको बौद्धिक पुँजी बाह्य जगत्बाट आयात गर्नुपर्ने अवस्था सिर्जना भए सोको दोहोरो घाटा सहन गर्नुबाहेक अर्को कुनै भरपर्दो सूत्रधार औद्योगिक समूहसँग रहनेछैन भन्दा त्यति अत्युक्ति नहोला । आयातित पुँजीको व्यवस्थापनमा अतिरिक्त आर्थिक भार पर्ने भएकाले उत्पादनको क्षेत्रमा न्यून रूपमा भए पनि ऋणात्मकता छाउनेछ ।

जसको उपर्युक्त व्यवस्थापनका लागि निश्चित रूपमा मानव संसाधनको महत्वपूर्ण भूमिका रहँदै आएको हुन्छ । किनकि उत्पादनका लागि आवश्यक पर्ने प्रविधियुक्त सीप विकासको दक्षताले भरिपूर्ण पुँजी विकास नै सम्बद्ध औद्योगिक समूहको उत्पादकत्व अभिवृद्धि गर्ने प्रमुख उद्भव स्थलसमेत भएकाले यसको संरक्षण, प्रवद्र्धन, गरिमा व्यवस्थापन-विकास गर्न सम्बद्ध समूहमा आबद्ध रहेको मानव संसाधन विभागको उल्लेख्य भूमिका रहँदै आएको पाइन्छ । उत्पादनजन्य योजना विकासका साथै भावी औद्योगिक परियोजनाको सम्भाव्यता अध्ययन तथा कार्यान्वयनका लागि आवश्यक पर्ने आक्रमणजन्य रणनीतिको सही परिणाम प्राप्तिको सन्दर्भमा आवश्यक पर्ने मानव स्रोतको उचित पहिचान तथा व्यवस्थापन गर्दै उत्पादनको क्षेत्रमा लगाउँदा वास्तविक प्रतिफल प्राप्त नहुने भन्ने प्रश्न नै उठ्दैन ।

मुलुकको आर्थिक समुन्नति तथा मानव पुँजी व्यवस्थापनको अन्योन्याश्रित सम्बन्ध कायम रहँदै आएको छ । आर्थिक वृद्धिको मापन तथ्यलाई हेर्दा विगतमा अदक्ष मानव पुँजीको उपयोगको तुलनामा आज दक्षतावान् पुँजीको निर्माणपश्चात् प्राप्त हुन आएको उत्पादन वृद्धिको समुच्च मूल्यांकनबाट वास्तविक मानव पुँजीको महत्व उत्पादनको क्षेत्रमा के रहेको छ भन्ने तथ्य घामजस्तै छर्लङ्ग भएको छ । जसका लागि महत्वपूर्ण मानिएको उच्चस्तरको ज्ञान तथा सीप विकास हेतु आवश्यक पर्ने शैक्षिक जनशक्ति विकासमा राज्यको ध्यान केन्द्रित रहनु समय सान्दर्भिक कदमको उच्चतम नमुना विशेषको रूपमा प्रस्तुत प्रवृत्तिको क्रियाकलापलाई लिन सकिनेछ ।

जसका लागि निःशुल्क शैक्षिक परियोजनालाई राज्यले आत्मसात् गर्न सक्नुपर्छ । अन्यथा न्यून शुल्कमा उच्च शैक्षिक गन्तव्य विकासले मूर्तरूप हासिल गर्दै सम्बद्ध पुँजी विकासको क्षेत्रमा अधिकतम लाभ हासिल गर्न सक्ने अवस्था तयार पार्नु समयको माग हो । तथापि क्षमता मापनको सन्दर्भमा कायम रहन आउने विभिन्न प्रकारका त्रुटिपूर्ण व्यवहारको विकासले प्रस्तुत प्रवृत्तिको पुँजीको क्षमता दक्षतामा ह्रास आई उत्पादनका क्षेत्रमा पर्ने नकारात्मक प्रभावका तथ्यगत विशेषतालाई कुनै पनि हालतमा बेवास्ता गर्न मिल्दैन ।

विपरीत अवस्था तयार पार्ने हो भने त्यसको प्रत्यक्ष प्रत्युत्पादक असर उत्पादनको क्षेत्रमा पर्न गई उच्चदरको घाटाका कारण लगानीयोग्य वातावरणसमेत धमिलिने हुँदा समयमा नै बुद्धिमत्तापूर्ण निर्णय लिनु उत्पादनको गतिशीलतालाई ह्रास हुनबाट जोगाउनुसरहको अवस्था हो । तत्पश्चात् भविष्यवृद्धि योजनाअनुसार उपभोक्ता वर्गको उच्चदरको मागलाई मध्यनजरमा राख्दै औद्योगिक व्यवसाय वृद्धिको उचित वातावरणको विकास हुने भएकाले अतिरिक्त व्यावसायिक लगानीका लागि व्यवसायीहरू जागरुक हुने अवस्था प्रारम्भ हुनेछ ।

व्यवसायजन्य लगानी अभिवृद्धिका लागि पुँजीगत लगानीमा समेत वृद्धि गर्न कर्जा विस्तारलाई प्राथमिकता दिनुबाहेक अर्को कुनै भरपर्दो विकल्प व्यवसायी वर्गसँग रहने छैन भन्दा फरक नपर्ला । जसले ठूलो परिमाणको उत्पादकत्व अभिवृद्धिका साथै मुनाफायोग्य वातावरण निर्माण गर्दै मानव पुँजी एवं उत्पादनको सम्मिश्रणलाई दीर्घकालीन औद्योगिक गन्तव्यको सुमार्गका रूपमा पहिचान गराउन सहयोग प्राप्त हुने देखिन्छ । यद्यपि सम्बद्ध क्षेत्रमा रहने गरेको थप व्यवसाय विस्तारको अवधारणाले नयाँ रोजगारी सिर्जना गरी न्यून रूपमा भए पनि बेरोजगारी समस्या हल गर्न सहायकसिद्ध भूमिका निर्वाह गर्नेछ ।

तत् सन्दर्भमा लगानी विकासका लागि दुई अवस्था प्रारम्भ हुने देखिन्छ । पहिलो अवस्था भनेको निश्चित रूपमा राज्यका तर्फबाट उपर्युक्त मानव पुँजी विकासका खातिर खर्चिने लगानीयोग्य वातावरणलाई लिन सकिन्छ । दोस्रो अवस्थाका रूपमा निजी वा अन्य प्रतिष्ठानहरूले आफ्नो स्वामित्वमा रहेको व्यवसायको उत्पादकत्व अभिवृद्धिका लागि कायमी सीमित स्रोत तथा साधनका बाबजुद पनि गरिने लगानी, जुन राज्य केन्द्रितभन्दा व्यवसायी केन्द्रित रहने गरेको तथ्यहरूले प्रमाणित गर्दै आएको वर्तमान अवस्था हो ।

यति हुँदाहुँदै पनि नेपालजस्तो आर्थिक विकासको प्रतिफल प्राप्तिको आशामा निरन्तर औद्योगीकरणलाई विकासको मूलमन्त्र मान्दै व्यवहारमा अगाडि बढ्ने क्रममा देखिने मुख्य समस्याका रूपमा शैक्षिक जनशक्ति विकासको न्यूनतालाई लिन सकिन्छ । जसको प्रभावजन्य असरका कारण न्यून सीपमूलक जनशक्तिमा आधारित औद्योगिक गन्तव्यलाई आत्मसात् गर्नु निकै नै चुनौती एवं जोखिमले भरिएको उत्पादनमूलक कार्य हो, जसले मानव पुँजीको व्यक्तित्व विकासमा मात्र ह्रास ल्याउने नभई समग्र उत्पादनको क्षेत्रमा समेत ऋणात्मक प्रभाव पार्ने देखिन्छ । यस क्षेत्रमा कायम रहेको चुनौतीलाई अवसरका रूपमा लिँदै सहयोगी हातहरूको अदम्य साहसको सम्मान गर्दै निरन्तर सुखद औद्योगीकरणको चाहना राख्नु समय सान्दर्भिक कदमको उच्चतम महिमा विशेष हो, जसमा मानव पुँजी तथा उत्पादनको सुखद भविष्य निर्भर रहनेछ भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्