Logo

विद्युत समस्या समाधान गर्न संयन्त्र गठन

नेपालगन्ज– नेपालगन्जमा देखिएको विद्युत अनियमितताको समस्या समाधानका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पहल थालेको छ । गर्मी बढेसँगै विद्युत आपूर्तिमा समस्या भएपछि संघको पहलमा बिहीबार नेपालगन्जको अनियमित विद्युतको समस्या र समाधान विषयक अन्तरक्रियामा संयन्त्र गठन गरिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा गठन गरिएको संयन्त्रमा संघका प्रतिनिधि व्यवसायी, नागरिक समाजका अगुवा, वकिल, पत्रकार महासंघ सदस्य रहेका छन् । संयन्त्रको सदस्य सचिवको जिम्मेवारी संघका महासचिव भीमबहादुर रानाभाटलाई दिइएको छ ।

सदस्य सचिव रानाभाटले विद्युत प्राधिकरणको स्थानीय वितरण केन्द्रको क्षमताभन्दा बाहिरको समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्न तथा स्थायी समाधानका लागि राजनीतिक पहलकदमी खोज्न ‘अनियमित विद्युत समस्या समाधान संयन्त्र’ निर्माण गरिएको बताए । प्राधिकरणले प्रशारण लाइन थप र नेपालगन्ज केन्द्रित विद्युतगृह निर्माण नहुँदासम्म मौजुदा अवस्थामा समाधान असम्भव रहेको बताएपछि समाधान खोज्न संयन्त्र गठन गरिएको उनको भनाइ छ ।

अन्तरक्रियामा बोल्दै विद्युत कार्यालय, नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले उपलब्ध विद्युतलाई आफूले व्यवस्थापन गरेको र नेपालगन्जको समस्या स्थायीरूपमा समाधान गर्न नयाँ विद्युत उत्पादन गृह थप्न आवश्यक रहेको बताए । उनले विद्युतको प्रशारण क्षमता थप नहुँदासम्म समस्या देखिने बताउँदै भएका जनशक्ति र स्रोत साधन अधितम परिचालन गरी विद्युतको व्यवस्थापन गरिएको दाबी गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारको तर्फबाट हुनसक्ने सबै पहल गर्न प्रदेश सरकार तयार रहेको बताए । निवर्तमान मन्त्री एवं प्रदेश सांसद कृष्णा केसीले प्रदेशबाट हुनसक्ने सबै सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै माओवादीको मन्त्रालयमा ऊर्जा मन्त्रालय परेकाले राजनीतिक पहलकदमीको नेतृत्व गर्न पनि माओवादी पार्टी तयार रहेको बताइन् । उनले सबै राजनीतिक दलको सहकार्यमा संघीय सरकारबाट विद्युतको समस्या समाधानका लागि आफ्नो पार्टीले नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङ, नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यलगायतले ४३ डिग्री गर्मीको समयमा विद्युत अनियमित हुँदा ठूलो सास्ती भोग्नु परेको बताए ।

उनीहरूले अत्यावश्यकबाहेक मर्मतका नाममा विद्युत अवरुद्ध नगर्न र काट्नै पर्ने भएमात्रै सूचना दिएर विद्युत काट्न र अन्य अवस्थामा विद्युत सुचारु गर्न आग्रह गरेका थिए । अत्यधिक गर्मी भएपछि बाँकेका स्थानीय तहले हाल गर्मी बिदा दिएका छन् । तर गर्मीको समस्याका बीच लो भोल्टेजका साथै विद्युतको समस्याले सताउँदा सर्वसाधारणको दैनिकी थप कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्