सम्झौता अवधिको ११ महिना अगावै सिँचाइ आयोजना सम्पन्न
पर्वत– पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ्गमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिना अगावै सम्पन्न भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनाभित्रमा निर्माण सम्पन्न गर्न सनफोर्स सोलार एण्ड कन्स्ट्रक्सन बालाजु काठमाडौंसँग २०८० भदौं १५ गते ९२ लाख ७७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिंँचाइ योजनामा पानी सञ्चालन गरिएको सिंँचाइ नहर उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिए । सम्झौता अवधिमा २०८१ चैतमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको थियो । निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रुपमा सुपरिवेक्षण भएकाले काम थालेको आठ महिनामै पानी सञ्चालन गर्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताए ।
सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरी कृषकको करिब एक हजार रोपानी खेतबारी बाह्रै महिना सिँंचाइ सुविधा पुगेको पौडेलले जानकारी दिए । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । भेडावारीदेखि एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरानजिक रहेको लुङ्दीखोलाबाट २२५ एमएमको एचडीपी पाइपलाइनमार्फत पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताए ।
उनका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ । योजनामा कुलोको मुहानदेखि भेडावारीसम्म १८ सय मिटर दूरीको पाइपलाइन जडान गरिएको उनले जानकारी दिए । कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइपलाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताए । योजनामा पानी सञ्चालनमा आए पनि केही काम बाँकी रहेको र बजेट अभावमा निर्माण व्यवसायीलाई करिब ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए ।
विगत पाँच वर्षअघि मिलनचोक–सल्यना–घायखेत–धारापानी–ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्याएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर पुनर्निर्माण गरेको हो । सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले आकासे पानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइ अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो ।
सिँचाइ योजना सम्पन्न भएसँगै भेडावारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिनमा समेत खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताए । वैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसाले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको आचार्यले बताए । वैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उनको भनाइ छ ।
बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा ताजा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको आचार्यले बताए ।धाईरिङ्गको सल्यान फाँटबाट वर्षेनी दुई करोडभन्दा बढीको तरकारी बिक्री हुने गरेको छ । सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राखेका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गरेको बताए । योजना सम्पन्न भएपछि स्थानीय कृषकलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।