Logo

विद्युतमा बढाएको बजेटले आशा जगायो

वीरेन्द्रनगर (सुर्खेत)– आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित बजेटबाट कर्णाली प्रदेशभित्र विभिन्न विद्युत आयोजना निर्माण गर्न बजेट विनियोजन हुँदा कर्णालीबासी खुसी भएका छन् । निर्माण चरणमा लिनका लागि तयारी हालतमा रहेका विद्युत आयोजनामा बजेट विनियोजन भएपछि कर्णाली प्रदेशमा भरोसा बढेको हो ।

जाजरकोटको नलगाड नगरपालिकामा निर्माण हुने कर्णालीकै सामरिक महत्वको नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट, डोल्पाको मुडकेचुलामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटलगायतका आयोजना आगामी आर्थिक वर्षमा निर्माण गर्नका लागि सरकारको बजेटमा विनियोजन गरेपछि यहाँका स्थानीयबासी खुसी भएका छन् । १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता रहेको कर्णालीमा दुई ठूला आयोजना निर्माणका लागि बजेट विनियोजन भएपछि भरोसा दिलाएको हो ।

जगदुल्ला जलविद्युत आयोजनाका लागि ऋण सम्झौता भई अब बोलपत्र खोल्ने तयारीमा छ । त्यस्तै नलगाड जलविद्युत आयोजनाको डिपीआर निर्माण भई लगानीका लागि पहल भइरहेको छ । सरकारले सोही लगानीका लागि पहल सुरु गरी आर्थिक वर्ष २०८१/०८२ मा निर्माण चरणमा लिने सरकारको नीतिअनुसार कर्णालीमा खुसी छाएको छ । विदेशी लगानी भित्र्याएर आयोजना निर्माण गर्ने तयारी अन्तिम चरणमा रहेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

त्यस्तै यी आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारणमा जडान गर्नका लागि भेरी करिडोरमा ४०० केभी प्रशारणलाइन तथा सबस्टेसन निर्माण गर्न बजेट विनियोजन भएपछि आफूहरू खुसी भएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए । कर्णाली प्रदेशका लागि विद्युत क्षेत्रमा राम्रो बजेट विनियोजन भएको उनको तर्क छ । साविकको कर्णालीका जिल्लामा विद्युतीकरण गर्नका लागि कर्णाली करिडोरमा ४०० केभी प्रशारणलाइन निर्माण गर्ने भन्दै बजेट विनियोजन भएपछि खुसी थपिएको जुम्लाका गोल्डेन बुढाले बताए ।

कर्णालीबाटै निर्वाचित ऊर्जामन्त्री बस्नेतले यो पटक कर्णालीमा विद्युतीकरणका काममा भारी मात्रामा काम गर्न खोजेको देखिन्छ, यो स्वागतयोग्य कुरा भएको उनले बताए । कर्णाली करिडोर सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु हुँदै हुम्ला पुग्ने गर्दछ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री बेदराज सिंहले आयोजनाको नाम आयो तर बजेट कति हो त्यो भनिएन भन्दै निरासा व्यक्त गरे । प्रदेशसभामा बोल्दै उनले यो कुरा बताएका हुन् । ताक्सुगाड जलविद्युत आयोजनासमेत आउँदो वर्षमा निर्माण चरणमा लिने ऊर्जामन्त्री बस्नेतले बताए ।

कर्णालीको मुख्य आधारका रूपमा रहेको जलविद्युत आयोजना निर्माण भएमा कर्णाली मात्र नभई देशलाई नै सघाउ पुग्ने पूर्वमन्त्री सिंहले बताए । कर्णलीमा छिटोभन्दा छिटो प्रशारणलाइन निर्माण गर्नु नै पहिलो प्राथमिकता हुने उनको भनाइ छ । अहिले कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन निर्माण कार्य जारी रहेको छ । ३२ केभी प्रशारणलाइन पुरानो भएको र कर्णालीको भार थाम्न नसक्ने भन्दै १३२ केभीसँगै ४०० केभी प्रशारणलाइन निर्माणको योजना अगाडि बढाएको उनको भनाइ छ ।

साना र ठूला गरी दर्जन बढी आयोजना कर्णालीमा निर्माण हुने प्रक्रियामा रहेका छन् । कर्णालीका गाउँगाउँमा विद्युतीकरण गर्नका लागि मन्त्रालयको ध्यान गएको मन्त्री बस्नेतले बताए । बजेट भाषणमा नआएका धेरै अन्य शीर्षकका बजेट भएकाले कर्णाली बनाउने हाम्रो योजना सफल बनाएर छाड्ने उनको भनाइ छ । विद्युतीकरण गर्न तत्काल सम्भव नहुने ठाउँमा सौर्य मिनिग्रेटमार्फत विद्युत सेवा पुर्‍याइने लक्ष्य रहेको छ । डीपीआर गर्न दर्जनाैं जलविद्युत आयोजनाको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्