Logo

तातोपानीको दुई वर्षे प्रगति

२१ नमुना कामदेखि पूर्वाधार विकासमा फड्को

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नो दुई वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ को स्थानीय चुनावबाट निर्वाचित भई दुई वर्षको अवधिमा भएका उपलब्धि बुधबार पत्रकार सम्मेलनमार्फत तातोपानीले सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं नेतृत्वले तातोपानीमा दुई वर्षको अवधिमा विभिन्न २१ वटा नमुना कार्यक्रम सञ्चालनदेखि पूर्वाधार विकासमा फड्को मारेको देखिएको छ । गाउँपालिका अध्यक्ष चौलागाईंले प्रस्तुत गरेको प्रगति विवरणअनुसार विकास निर्माणलाई जोड दिएको पाइएको हो ।

असारे विकासको अन्त्य गरी पुँजीगत खर्च बढाउने र गुणस्तरीय योजना निर्माण गर्न वैशाखमै योजनाको अन्तिम भुक्तानी दिने लक्ष्य लिएको तातोपानीले चालु आवको वैशाख मसान्तसम्म भौतिक प्रगति ९९ प्रतिशत गरेको छ । जुन जिल्लाकै नमुना पहिलो हो । अन्य पालिका भर्खर योजना निर्माणको सुरसारमा हुँदा तातोपानीको भौतिक प्रगति ९९ प्रतिशत भएको छ । गत वर्ष ९३ प्रतिशत भौतिक प्रगति भएकोमा यो वर्ष प्रगति बढेको छ । त्यसैगरी गत वर्षको तुलनामा भने वित्तीय प्रगति भने न्यून छ । गत वर्ष ८१.६७ प्रतिशत रहेकोमा यसवर्ष वैशाखसम्ममा ५८ प्रतिशतमात्रै भुक्तानी भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले सम्पन्न भइसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउनु, स्टिमेटनुसार काम नभएर बजेट घट्नु केही योजना निर्माणकै क्रममा रहनुलगायतका कारणले वित्तीय प्रगति विगतको भन्दा कम भएको बताए । प्रगति विवरणनुसार दुई वर्षको अवधिमा भौतिक पूर्वाधार विकासतर्फ विद्यालय भवन निर्माण १० वटा, वडा कार्यालय भवन निर्माण दुईवटा, प्रशासकीय भवन निर्माण–१, सार्वजनिक शौचालय ३, काठेपुल निर्माण ३, कल्भर्ट पुल १ वटा निर्माण भएका छन् ।

त्यस्तै श्रमदान अभियानअन्तर्गत आठवटा योजना निर्माण, स्टिल ब्रिज/झोलुङ्गे पुल निर्माण दुईवटा, मन्दिर निर्माण/मर्मत ४२ वटासहित अन्य कृषि, पर्यटन, सिँचाइ, खानेपानी, पूर्वाधार संरचना २२ वटा लगायत दर्जनौ भौतिक संरचना निर्माण भएका छन् भने सडक निर्माणतर्फ (धुले, ग्राबेल, सोलिङ्ग, पिसिसि, आरसिसि) सडक ७.२३ किलोमिटर, गोरेटो/घोरेटो तथा पिसिसि बाटो निर्माण २४.०९६ किलोमिटर, सिँचाइ कुलो निर्माणपछि ३१ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

साथै एक घर एक धारा अभियानअन्तर्गत दुई हजार ५२८ घरधुरीमा पानीको पहुँच पुगेको, एक हजार ७१० मिटर बृहत तटबन्धन निर्माण र २१ सय ५१ मिटरको बृहत स्याउ बगैचा घेराबार लगायतका पूर्वाधार निर्माण भएका छन् । भौगोलिक विकटता, जनस्तरको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकासलाई विशेष प्रथामिकता दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईंको भनाइ छ । उनले महत्वकाँक्षी नीति ल्याउने तर बजेट नछुटाउने प्रवृत्तिको अन्त्य गर्दै बजेटनुसारकै नीति ल्याएकाले दुई वर्षको प्रगति सन्तोषजनक रहेको उल्लेख गरे ।

यद्यपि सीमित स्रोतले धेरै योजना एकसाथ अघि बढ्न नसकेको उनको भनाइ छ । चालु आवमा तातोपानीले चालु र पुँजीगत गरी कुल ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा पुँजीगततर्फ १८ करोड १९ लाख विनियोजन भएकोमध्ये वैशाख मसान्त सात करोड ९७ लाख गरी ४३.८३ प्रतिशत खर्च भएको छ भने चालुतर्फ ३७ करोड ४० लाख विनियोजन भएकोमा २१ करोड ७ लाख अर्थात् ५६.३१% (प्रतिशत) खर्च भएको छ । समग्र वित्तीय प्रगति ५२.२३ प्रतिशत हासिल भएको तातोपानीका योजना शाखा प्रमुख ओमबहादुर चन्दले बताए । उनका अनुसार चालु आवमा मात्रै ११ वटा विभिन्न नीति पारित भएका छन् ।

तातोपानीका दुईवर्षे २१ नमुना कार्य
पूर्वाधार विकास तथा सुशासन र सेवा प्रवाहमा जिल्लामै अब्बल बन्दै गएको तातोपानीले दुई वर्षमा विभिन्न २१ वटा नमुना कार्यक्रम सञ्चालन गरेको छ । जसमा प्रत्येक आर्थिक वर्ष वैशाख मसान्तभित्र गाउँपालिकामा सञ्चालित योजनाको अन्तिम भुक्तानी दिने नीतिगत व्यवस्था, तातोपानी टाइम्स लागू र खादामुक्त पालिका घोषणा, प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान अभियान जसअन्तर्गत आठवटा योजना निर्माण भएका छन् ।

जिल्लाकै पहिलो गाउँपालिकाको पहिचान झल्किने पालिका गान र लोगो निर्माण, गाउँपालिका र अन्तर्गतका कार्यालयमा डिजिटल हाजिर जडान, सडक मानव उद्दार तथा पुनःस्थापना (६ जना), अतिविपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागू, (१२ सय नागरिक बिमाको पहुँच), गाउँपालिकाको आन्तरिक आय स्रोतबाट प्रशासकीय भवन निर्माण गरिएको अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन (४०५ जना लाभान्वित), २५ वटा स्थानीय कानुन निर्माण र कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक कचहरीको थालनी, विद्यार्थी शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान, गुमनाम पर्यटकीय गन्तव्य गिडिदह सम्मेलन तथा क्षेत्रफल नापजाँच सार्वजनिक, बढ्दो प्राकृतिक विपदलाई मध्यनजर गरी घर बिमा कार्यक्रम लागू (१२ सय घरको बिमा भएको) २९ वटै विद्यालयमा स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम लागू भएको छ ।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, सहयात्रा तेस्रो परियोजना लागू, विपद्बाट प्रभावित नागरिकका लागि तत्काल राहत वितरण, ५१२ घरधुरीमा सुरक्षित नागरिक आवास निर्माण, दुर्गम भेरीखोलालगायत अन्य क्षेत्रमा सञ्चार सेवा विस्तारलगायतका २१ वटा नमुना काम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्