Logo

जापानमा कामदार लैजाने कार्यविधि बन्दै

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले विगतमा नेपाल र जापानबीच कामदार लैजाने सम्बन्धमा भएका सम्झौताको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको बताएका छन् । मन्त्री अर्याल र नेपालका लागि जापनिज राजदूत किकुता यूताकाबीच बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्यको रूपमा धेरै नेपालीहरूको चासो रहेको पनि बताए ।

नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग समेत गरी जापानी दूतावासको समेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदारहरू जापान पठाउने चाहेको उनले बताए । मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सिर्जना गरी नेपालमा नै अवसरहरू उपलब्ध गराएर नेपाली युवालाई नेपालममै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता रहेको बताए ।

यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरिरहेको र नेपालीबीच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको उनले जानकारी दिए । स्वदेशमा नै रोजगारीका अवसरहरू उपलब्ध गराउने र त्यस्ता अवसरहरू पर्याप्त रूपमा उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकूल मौसम, एवं काम गर्ने सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरू रोजगारीको लागि जाउन भन्ने सरकारको मनसाय रहेको समेत उनले बताए ।

नेपाल र जापान श्रम सम्बन्धका विविध विषयमा थप सहजीकरण गर्न जापानी दूतावास तयार रहेको उनको भनाइ थियो । राजदुत यूताकाले दीर्घकालमा नेपाली युवाहरूलाई नेपालमा नै रोजगारीका अवसरहरू उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै वैदेशिक रोजगारका अवसरहरू अल्पकालका लागि मात्रै उपयुक्त विकल्प भएको बताए । जापानबाट फर्किएका नेपालीहरूले नेपाल भित्र नै रोजगारी एवं उद्यमशीलता प्रवर्द्धन गर्न विशेष कार्यक्रम पनि सञ्चालन गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्