बझाङको साइपालमा बल्ल यो वर्ष बैंक पुग्दै

काठमाडौं– सुदूरपश्चिम प्रदेश बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ ।
साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा विस्तार गर्ने अन्तिम तयारी गरेको छ । त्यसका लागि बैंकले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेकोे बैंकका बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले बताए । छिट्टै शाखा विस्तार गर्न सकेमा साइपालमा बैंक शाखा विस्तार गर्ने एभरेष्ट नै पहिलो बैंक हुनेछ । राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो । सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले शाखा खोलेको थिएन । अब भने पूर्वाधार विस्तार हुँदै जाँदा बैंकले शाखा विस्तारका लागि सक्रियता बढाएको हो ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले साइपालमा बैंक शाखा पुर्याउने घोषणा गरेको छ । साइपालबाहेक सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेको छ । यस पटकको बजेटमा सरकारले साइपालमा बैंक शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेकाले अब बैंक पुग्ने अपेक्षा गरिएको साइपाल गाउँपालिका प्रमुख मानविर बोहराले बताए । संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपाल गाउँपालिकामा पुगेको थिएन ।
आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य छन् । साइपाल गाउँपालिकाका प्रतिनिधिले यसअघि आफ्नो गाउँपालिकामा शाखा विस्तार गर्न बैंकहरूलाई आग्रह गर्दै आए पनि सफल भइसकेको थिएन ।
बैंक स्थापना गर्न सकिने-नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो । सो टोलीले साइपालमा बैंक स्थापना गर्न सम्भव भएको निष्कर्ष निकालेपछि यसतर्फ काम अगाडि बढाइएको हो । अहिले बैंकले साइपालमा शाखाका लागि आवश्यक पूर्वाधार बनाउनका लागि सामान लैजान सुरू गरिसकेको बताइएको छ ।
केही समयदेखि गाउँपालिका प्रमुख बोहराले बैंक शाखा विस्तारका लागि पहल गर्दै आएका थिए । एक साताअघि गभर्नर महाप्रसाद अधिकारीले पनि अब छिट्टै साइपालमा बैंकको शाखा विस्तार हुने आश्वासन दिएका थिए । त्यसपछि एभरेष्ट बैंकले साइपालमा बैंक विस्तारका लागि सक्रियता देखाएको छ । केही समयमै साइपालमा एभरेष्टको बैंक पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख बोहराले बताए । उनले भने, ‘संघ सरकारको बजेटमा नै साइपालमा बैंक शाखा विस्तार गरिने योजना आएको छ । सबै क्षेत्रको सक्रियतामा अब छिट्टै आफ्नै पालिकामा बैंकिङ कारोबार गर्न सक्छौं भन्ने आशा छ ।’
एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्माले शाखा विस्तारका लागि साइपालमा स्थलगत अवलोकन समेत गरिसकेको र अहिले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको बताए । साइपालमा अहिले पुराना घरहरू रुपान्तरण भएर नयाँ पक्की घर बन्ने क्रममा छन् । इन्टरनेटको पनि पहुँच पुगेकाले शाखा विस्तार गर्न पूर्वाधारहरू तयार भइरहेको उनले बताए । ‘पूर्वाधार बन्दै जाँदा शाखा विस्तार गर्न पनि सहज हुने हुन्छ । अहिले त्यहाँ विद्युतको केही समस्या रहेको देखियो, त्यो समस्या पनि पालिकाले हल गर्ने बताएको छ,’ शर्माले भने ।
अहिले सरकारी कारोबार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको उनले बताए । अब स्वीकृति प्राप्त भइसकेपछि शाखा विस्तारको कामले मूर्त रूप पाउने उनको भनाइ छ । साइपाल गाउँपालिका कार्यालय वडा नम्बर तीनमा रहेको छ । बैंकको शाखा कार्यालय वडा नम्बर १ मा राख्ने तयारी भइरहेको अध्यक्ष बोहराले बताए ।
तीन हजारभन्दा बढी नागरिक साइपाल गाउँपालिकामा बसोबास गर्छन् । उनीहरूमध्ये करिब ७ सयले मात्रै विभिन्न कामको शिलशिलामा बैंक खाता खोलेका छन् । बैंक शाखा गाउँपालिकामै हुँदा स्थानीयलाई धेरै सहज हुने र वित्तीय पहुँचमा पनि सबै नागरिक समेटिने बोहरा बताउँछन् । साइपालमा धेरै पुरुषले जाँडरक्सीमा पैसा खर्च गर्दै आएका छन् । बचतको बानी नहुँदा उनीहरूले पैसा जोगाउन सकेका छैनन् । अब भने बैंकमा पैसा राख्ने बानी गराउन सकिए कुलत न्यूनीकरणमा समेत सहयोग पुग्ने स्थानीयको अपेक्षा रहेको बोहराले बताए ।
गाउँपालिकाले आव २०७९–८० देखि नेपाल टेलिकमको फोरजी सेवा जडान गरी इन्टरनेटको प्रयोग गर्दै आइरहेको छ । विस्तारै सडक पूर्वाधारको समेत विकास हुँदै गएकोमा अब बैंक शाखा पुग्ने हुँदा निकै खुशी भएको बोहराको भनाइ छ । ‘बैंक शाखा पुगेपछि सामाजिक सुरक्षा भत्ता, ससाना बचत जस्ता काम, परियोजनाको खर्च भुक्तानी गाउँपालिकामै गर्न सकिने हुँदा थप सहज हुन्छ,’ उनले भने ।