Logo

आर्थिक वर्षको बजेटलाई शेयर बजारले दियो रेड सिग्नल

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको बजेटलाई शेयर बजारले रेड सिग्नल दिएको छ । बजेट सार्वजनिक भएको भोलिपल्ट शेयर बजार मापन गर्ने नेप्से परिसूचक २३ दशमलव आठ एक अंकले घटेको हो । उत्पादनमूलक, होटल र पर्यटन, व्यापार र वित्त बाहेकका समूहले समग्र परिसूचक २ हजार ८९ दशमलव चार दुई अंकमा ओरालेका हुन् ।

उत्पादनमूलक समूहको परिसूचक दुई दशमलव छ एक, होटल र पर्यटनसमूहको परिसूचक १ दशमलव एक तीन, व्यापार समूहको परिसूचक शून्य दशमलव छ नौ र वित्त समूहको परिसूचक शून्य दशमलव एक चार प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको परिसूचक २ दशमलव नौ चार, लघुवित्त समूहको परिसूचक एक दशमलव सात एक, जिवन बीमा समूहको परिसूचक एक दशमलव तीन शून्य र विकास बैंक समूहको परिसूचक एक दशमलव एक एक प्रतिशतले बढेको छ ।

बाँकी सबै समूहको परिसूचक एक प्रतिशत भन्दा कमले घट्दा म्युचुअल फण्ड समूहको परिसूचक भने स्थिर रहेको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । दिनभर कुल ३ सय १४ कमपनीको एक करोड ७ लाख ३८ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । सोमबार ९३ लाख ३० हजार कित्ता शेयर ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो ।

बुधबार नेप्से परिसूचक घट्दा युनिलिभर नेपाल, कालिञ्चोक दर्शन लिमिटेड, माथिल्लो लोहोर खोला हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यता, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य भने सबै भन्दा धेरै ९ दशमलव चार एक प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्