Logo

महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा जानु नपर्ने

फाइल तस्बिर ।

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गरेका छन् । गृहमन्त्रीले मंगलबारदेखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको हो ।

हाल उपत्यकाभित्र दुई सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन् । कार्यालयका अनुसार थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका छन् । ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् ।

यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, संकेत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लंघन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ । सवारी नियम उल्लंघनकर्तालाई उनीहरूले त्यसो नगर्न सम्झाउने छन् ।

प्रतिक्रिया दिनुहोस्