Logo

चालु आवमा राजस्व संकलन वृद्धि

दाङ– जिल्लामा चालु आर्थिक वर्षमा गत आर्थिक वर्षभन्दा केही रकम राजस्व वृद्धि भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार राजस्व वृद्धि भएको पाइएको हो । चालु आर्थिक वर्षको १० महिनामा संघीय र प्रदेश कार्यालयको राजस्व संकलन गत वर्षभन्दा सामान्य बढेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दाङमा गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिको तुलनामा २० करोड ४१ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

संघीय कार्यालयतर्फ चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० महिनाको अवधिमा दुई अर्ब १५ करोड १७ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म दुई अर्ब ६ करोड २३ लाख राजस्व संकलन भएको थियो । प्रदेश कार्यालयतर्फ चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म १० महिनाको अवधिमा ८० करोड नौ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म ६८ करोड ६१ लाख राजस्व संकलन भएको थियो ।

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्म एक अर्ब ७४ करोड २९ लाख राजस्व संकलन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षमा १८ करोड १४ लाख राजस्व संकलन गरेको छ । गत वर्ष ५० लाख ६१ हजार राजस्व उठेको इलाका र जिल्लाको नापी कार्यालयमा यस वर्ष भने ६१ लाख राजस्व उठेको छ ।

चार लाख ३८ हजार राजस्व संकलन भएको उच्च अदालतमा ११ लाख, एक करोड ८८ लाख राजस्व संकलन भएकोे जिल्ला अदालतमा दुई करोड ५१ लाख राजस्व संकलन भएको छ । गत वर्ष ७४ लाख ४१ हजार राजस्व संकलन गरेको कोइलाबास भन्सार कार्यालयले यस वर्ष ९५ लाख २२ हजार राजस्व संकलन गरेको छ । गतवर्ष १४ लाख राजस्व संकलन गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले यस वर्ष वैशाख मसान्तसम्म २४ लाख राजस्व संकलन गरेको छ ।

गत वर्ष एक करोड ९१ लाख राजस्व संकलन गरेको सडक डिभिजन दाङले यस वर्षको सोही अवधि अर्थात वैशाख मसान्तसम्म तीन करोड १३ लाख राजस्व संकलन गरेको छ । मालपोततर्फ गत वर्ष सात लाख ५१ हजार राजस्व उठेकोमा यस वर्ष ५३ लाख राजस्व संकलन भएको छ । मालपोततर्फ यस वर्ष घोराहीको न्यून राजस्व संकलन भएको छ भने लमहीको गत वर्षको तुलनामा बढेको छ ।

प्रदेशतर्फ बढी उठाउने कार्यालय
अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म ५१ करोड तीन लाख रुपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालयले यस वर्षको सोही अवधिसम्म ५७ करोड ९७ लाख राजस्व संकलन गरेको छ । दुई करोड पाँच लाख राजस्व संकलन गरेका दाङका दुई डिभिजन वन कार्यालयले यस वर्ष दुई करोड १६ लाख राजस्व संकलन गरेका छन् । १२ करोड ७७ लाख राजस्व संकलन गरेको प्रदेश लेखा इकाई कार्यालयले १५ करोड ७६ लाख राजस्व संकलन गरेको छ ।

गत वर्ष ११ लाख ६९ हजार राजस्व संकलन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३७ लाख ५२ हजार राजस्व संकलन गरेको छ । एक लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ३४ लाख राजस्व संकलन गरेको छ । ६२ लाख ९५ हजार राजस्व संकलन गरेको पूर्वाधार विकास कार्यालयले एक करोड ६३ लाख राजस्व संकलन गरेको छ । आठ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको सहरी विकास तथा भवन कार्यालयले यस वर्ष २३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कम राजस्व उठेका कार्यालय
संघीय अन्तर्गतका केही कार्यालयमा भने गत वर्षको १० महिनामा कम राजस्व उठेको देखिएको छ । गत वर्ष एक करोड ६२ लाख ६६ हजार रुपैयाँ राजस्व उठेको शिक्षा विकास तथा समन्वय इकाईमा यस वर्षको वैशाख मसान्तसम्म एक करोड ५४ लाख ६० हजार रुपैयाँ राजस्व उठेको छ ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि यस वर्ष गत वर्षको तुलनामा कम राजस्व संकलन गरेका छन् । गत वर्ष १३ करोड ९३ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष दुई करोड ४७ लाख ७५ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष गत वर्षको तुलनामा कम राजस्व संकलन गरेको छ । यस वर्षको वैशाख मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक करोड ३२ लाख रुपैयाँमात्र राजस्व संकलन गरेको छ ।

जिल्ला हुलाक कार्यालयमा ३८ लाख ४२ हजार राजस्व उठेकोमा यो वर्ष ३२ लाख १४ हजार राजस्व उठेको छ । त्यस्तै प्रदेशअन्तर्गतका केही कार्यालयमा पनि गत वर्षको भन्दा कम राजस्व संकलन भएको छ । १० लाख १६ हजार राजस्व संकलन गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले यस वर्ष तीन लाख ३३ हजारमात्र राजस्व संकलन गरेको छ । गत वर्ष एक करोड २१ लाख रुपैयाँ संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयले यस वर्ष एक करोड १६ लाख ५२ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्