Logo

एक्लेडाँडामा २९ फिट अग्लो बुद्ध मूर्ति निर्माण सुरु

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्ध मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो बुद्ध मूर्ति निर्माणको काम थालेको हो । यहाँ आयोजित कार्यक्रममा गुरुङ लामा बौद्ध एसोसिएसनका सदस्य खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गरे ।

यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारमा सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार बुद्ध मूर्ति निर्माणका लागि एक करोड बजेट लाग्नेछ । समाजले चन्दा संकलन गरी मूर्ति निर्माण गर्नेछ । उनले भने, ‘समाजसँग आबद्ध देश तथा विदेशमा रहनेसँग चन्दा संकलन गरिनेछ ।’

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको थप प्रवद्र्धन हुने उल्लेख गरे । प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि १२ करोड ५३ लाख बजेट आवश्यक पर्ने देखिएको छ ।

प्रतिवेदनअनुसार दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतिक गौतम बुद्धको मूर्ति निर्माण गर्ने उल्लेख छ । यसैगरी पृथ्वीराजमार्गमा लेखनाथदेखि म्याग्देबाट देखिने गरेर आमाको प्रतिकका रूपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजनासमेत समेटिएको छ । जीपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेछ ।

बुद्धजयन्तीका दिनमात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले भरिभराउ हुन थालिसकेको छ । सधैँ दुलेगौंडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही सहरका व्यस्त मान्छे साँझ बिहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् । स्थानीयवासीका अनुसार शनिबार र चाडपर्वमा दैनिक दुई/तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । केही वर्ष पहिला यस ठाउँमा घाँस दाउरा गर्न बाहेक स्थानीय जाँदैनथे ।

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले १० लाखको बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाखको लागतमा ढुंगाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्