व्यक्तिगत लगानीमा करोडको शिवमूर्ति

जिल्लाको धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले व्यक्तिगत लगानीमै करोड बढीको शिवमूर्ति र मन्दिर स्थापना गरिएको छ । बगनासकाली– ८ झिरभञ्ज्यांगका ४६ वर्षका भीम बस्यालले व्यक्तिगत लगानीमा यहाँस्थित शिवासनधाममा नेपालकै ठूलो शिवको मूर्ति स्थापना गरेका छन् । पूजाआजाका लागि मात्र होइन, मूर्ति हेर्नका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ एक करोडभन्दा बढी लगानी गरेर बस्यालले शिवको मूर्ति स्थापना गरेको बताएका छन् ।
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो दाबी गरिएको शिवको मूर्ति निर्माण गर्न एक करोड रुपैयाँभन्दा बढी परेको छ । ललितपुरको पाटनमा झण्डै १८ महिना लगाएर निर्माण गरिएको उक्त मूर्ति नेपालमा अहिलेसम्मकै ठूलो दाबी गरिएको छ, शिवासन धामका अध्यक्ष माधव बस्यालले भने ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तल मिसाएर बनाइएको मूर्तिको तौल ३३ क्विण्टल रहेको छ ।
उनका अनुसार मूर्तिको उचाइ १२ फिट ४ इन्च रहेको छ तर मूर्ति स्थापनास्थल भने १८ फिट उचाइ रहेको छ । मूर्तिको नजिकै शिवलिंगसमेत रहेको छ । प्राकृतिक रूपमै बनेको शिवलिंग भारतको नर्वदा नदीबाट ल्याइएको जानकारी दिए । दानवी भीम बस्यालका अनुसार साढे तीन फिट अग्लो यस शिवलिंगगको मूल्य १२ लाख रुपैयाँभन्दा बढी छ । यी धार्मिक संरचना हेर्नका लागि अहिले पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
लगानीकर्ता बस्यालले भने अझै विस्तार र विकास गरेर यस क्षेत्रलाई धार्मिक क्षेत्रको रूपमा पहिचान दिने आफ्नो लक्ष्य रहेको बताए । अझै आवश्यक विभिन्न संरचना निर्माणका लागि अहिले स्थानीय निकाय र विभिन्न व्यक्ति तथा सहयोगी दाताले पनि सहयोग गर्न थालेका स्थानीय बासिन्दा दयाराज बस्यालले बताए । यहाँ कसैको विवाह, व्रतबन्ध र गाउँघरमा हुने सामान्य महायज्ञमा धार्मिक कार्यक्रम हुने गर्दथ्यो तर पछिल्लो समयमा यहाँ धार्मिक कार्यक्रम दैनिकजसो हुने गरेका छन् ।