Logo

कोशी प्रदेशबाट जापानमा घिउ निर्यात सुरु

प्रतिमहिना पाँच हजार किलो घिउको माग आएको किसानको भनाइ

विराटनगर– हरेक दिन आयातको मात्रा बढिरहेका बेला कोशी प्रदेशबाट जापानमा घिउ निर्यात सुरु भएको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

अप्ठ्यारो र झन्झटिलो नीतिकै कारण अझैसम्म पनि लगानीमैत्री वातावरण बन्न नसकेको भन्दै निजी क्षेत्रले गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय निर्यातमा केही सकारात्मक संकेत देखिन थालेको छ । नेपालको चिया, अम्लिसो, अदुवा, छुर्पीलगायतका उत्पादनको विदेशी बजारमा राम्रै माग रहेको छ ।

पछिल्लो समय कोशी प्रदेशको राजधानी विराटनगरको एक डेरी उद्योगले जापानमा घिउ निर्यात सुरु गरेको छ । प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि उद्योगले जापानमा घिउ पठाउन थालेको हो । विराटनगर–१४ मा २०७६ साल फागुनमा स्थापना भएको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रालिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा एक कार्यक्रम गरी जापानतर्फ घिउ पठाएको हो ।

‘अहिले प्रतिमहिना ५ हजार किलो घिउको माग आएको छ,’ उद्योगका सञ्चालक मनोज यादवले भने, ‘अहिले तीन हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाएका छौं ।’ अर्को महिनादेखि प्रतिमहिना ५–५ हजार किलो घिउ गरेर वार्षिक ५० मेट्रिक टन पठाउने सम्झौता गरेको उनले जानकारी दिए ।

गत वर्ष कोशीमा दूधको अत्याधिक उत्पादन हुँदा उद्योगमा धूलो दूध पनि सोही मात्रामा उत्पादन भएको थियो । उद्योगमा अहिले पनि ७० हजार किलो अर्थात् ७ करोड रुपैयाँ मूल्यभन्दा बढीको दूधजन्य वस्तु स्टकमा छ । पूर्वका विभिन्न ९ वटा डेरी उद्योगमा नौनी र धूलो दूधको स्टक बढ्दा किसानले भुक्तानी पाउन सकेका थिएनन् । सूर्योदयमा अहिले दैनिक ७० हजार किलो नौनी उत्पादन हुन्छ । उद्योग सञ्चालक यादवका अनुसार आन्तरिक डिमाण्ड बढेको खण्डमा पनि निर्यातले निरन्तरता पाउनेछ । विगतमा डीडीसीले जापानमा घिउ पठाउने गरेकोमा मागअनुसार पठाउन नसक्दा सम्झौता रद्द भएको थियो ।

‘डीडीसीबाट पाठ सिकेर हामीले उहाँहरूको डिमाण्डलाई पूरा गर्ने हाम्रो प्रतिबद्धता गरेका छौं,’ यादवले भने, ‘हामीले सिजनमा उत्पादन भएको नौनीलाई स्टक गरेर भए पनि डिमाण्ड पूरा गर्न सक्छौं ।’ यादवका अनुसार जापानमा रहेको पद्मा कर्पोरेसनले नेपालको घिउ लिने सम्झौता गरेको हो । उसले जापानसहित ६–७ वटा देशमा सामान निर्यात गर्ने गर्दछ । ‘जापानमा हामीले नियमित घिउ पठाउन सक्यौं भने बंगलादेश, न्यूजिल्याण्डमा पनि सोही संस्थाले बजार खोजिदिने भएको छ’ यादवले भने ।

आफ्नो डेरी उद्योगमा दूध, दही, घिउ, बटर पनिर गरेर २० हजार लिटर दैनिक प्रशोधन गर्ने क्षमता रहेको यादवले बताए । त्यसमध्ये अहिले उद्योगले पाउडर प्लान्ट २४ घण्टै चलाएको छ । उनले भने, ‘बजारमा अहिले ५–६ हजार लिटर दूधको माग छ । तर, दूध कलेक्सन चाँहि १३–१४ हजार लिटरभन्दा धेरै रहेको छ ।’

प्रदेश सरकारले उद्योग खोल्दा दुई करोड अनुदान दिएको थियो । पछिल्लो पटक दूधजन्य पदार्थ निर्यात गर्न अनुदान दिने नीति सरकारले लिएको छ । जसअनुसार घिउमा प्रतिकिलो १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिने सरकारको कार्यविधि बनेको छ । अनुदानका लागि प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले चार करोड रुपैयाँ बजेट राखेको छ ।

‘प्रदेश सरकारले निर्यातमा अनुदान दिनेगरी बजेट ल्याएपछि हामीले अन्तर्राष्ट्रिय बजारसम्म जान सक्ने भएका छौं,’ यादवले भने । पद्मा कर्पोरेसनले सुरुमा कम्पनीका ३२ वटै आउटलेटमा नेपालको घिउ लिइदिन्छु भनेको यादवले सुनाए । त्यसका लागि सुरुमा चार वटा प्रोडक्ट चिया, मह, चिउरा र घिउको माग गरेअनुसार आफूले खरिद गरेर तीन हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाउन लागेको उनको भनाइ छ ।

प्रदेश कृषि मन्त्रालयका सचिव डा.लेखराज दाहालले प्रदेश सरकारले विगतमा गरेको लगानीको प्रतिफल देखिन थालेको बताए । ‘जनताको डिमाण्ड दूध उत्पादन र विविधिकरणमा ठूलो लगानी गरेको छ । त्यही कारण इलाम, झापा, मोरङ सुनसरीमा उत्पादन बढेको छ’ उनले भने, ‘पहाडमा छुर्पी बनाएर विदेश निर्यात गर्ने गरिएको छ । त्यहाँबाट पनि घिउ निस्किने र तराईमा पाउडर बनाउँदा पनि घिउ निस्कन्छ । त्यसलाई बजारीकरण गर्न ठूलो चुनौती देखिएकोमा जापान घिउ पठाउने कुरा सुन्दा अत्यन्तै खुसी लागेको छ ।’ विदेश निर्यात हुन थाल्यो भने किसानले दूधको मूल्य अझै धेरै पाउने उनको भनाइ छ ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले घिउ निर्यात गर्ने आफूहरूको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन भएको जानकारी दिँदै त्यसमध्ये ३१ लाख लिटर दूध बजारमा आउने गरेकोमा १७ प्रतिशत मात्रै औपचारिक रुपमा बिक्री हुने र ३३ प्रतिशत अनौपचारिक रुपमा बिक्री भइरहेको बताए । दूधको बजारबाट दैनिक ६ करोड रुपैयाँ सहरबाट गाउँमा पैसा जाने उनको भनाइ छ । गाईभैंसी पालनमा ६ लाख कृषक परिवारले रोजगार पाएको छन् भने उद्योग क्षेत्रमा ४० हजारले रोजगार पाएका छन् । यस्तै निजी क्षेत्रका डेरी उद्योगमा ४५ अर्बभन्दा बढी लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्