Logo

यार्सा टिप्न चीनको हिमाली भेगमा सिन्धुपाल्चोकबासी

सिन्धुपाल्चोक– चिनियाँ सरकारले अनुमति दिएसँगै नेपाल–चीन सीमागाउँका बासिन्दा वैधानिक रूपमा यार्सागुम्बा टिप्न पहिलोपटक चीन छिरेका छन् । न्यालाम जिल्लाले सीमा छोएको सिन्धुपाल्चोकवासीका लागि अनुमति दिएपछि तातोपानी, लिस्ती, फुल्पिङकट्टी लगायतका बासिन्दा यार्सा टिप्न चीनको हिमाली भेग पुगेका हुन् ।

अहिले चीन सरकारले सीमा छोएका नेपालका जिल्लाबासीलाई मात्रै प्रवेश अनुमति दिएको छ । यहाँका बासिन्दा चिनियाँलाई नै ‘बिजनेस पार्टनर’ बनाएर चीनको उच्च हिमाली भेग पुगेका हुन् । यसअघि नेपाली यार्सा संकलकलाई चिनियाँ क्षेत्रमा गएर र्यासा टिप्न बन्देज थियो । तर, सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दा भने झुक्याएर चीन प्रवेश गरी लुकिछिपी यार्सा संकलन गर्ने गरेका थिए ।

यो सिजनमा भने चिनियाँ पक्षले नै नेपाली अझ सिन्धुपाल्चोकका बासिन्दालाई यार्सा टिप्न जान अनुमति दिएको तातोपानी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिनेश बराईले बताए । अहिले सर्वसाधारणकै नागरिकताअनुसार दिइएको अनुमति पत्रलाई आधार मानेर पास दिएलगत्तै गाउँ नै खाली गरेर सीमावासी चीनको लेक पुगेको उनले जानकारी दिए ।

चीनको उच्च हिमाली भेगमा पाइने यार्साको बजारमा राम्रो मूल्य आउने गरेको संकलक बताउँछन् । चीनको उच्च भेगमा पर्ने गौरीशंकर हिमश्रृंखला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानमा उच्च गुणस्तरको यार्सा पाइन्छ । त्यहाँको मूल्य राम्रो आउने भएकाले सिन्धुपाल्चोकका बासिन्दा जोखिम मोलेर भए पनि यसअघि यार्सा टिप्न चीन पुग्ने गरेका थिए ।

सीमा जोडिएका चीनको न्यालाम, खासाका चिनियाँसमेत अहिले लेक पुगेका छन् । उनीहरूले नेपालीलाई साथ लिएर यार्सा टिप्न गएपछि तातोपानी नाकामा हुने चहलपहल घटेको तातोपानी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिनेश बराई बताउँछन् । उनका अनुसार नाकाको छेउछाउ व्यापार गर्ने व्यवसायी नै यार्सा संकलन गर्न लेक गएका छन् । सीमामा पर्ने सिन्धुपाल्चोकको तातोपानी, लिपिङ बजार र चीनतर्फको खासा बजार लगभग शून्यप्रायः भएको उनले स्वीकारे ।

भूकम्पपछि खुल्दै अनि बन्दै हुँदै गरेर अस्थिर रहेको तातोपानी नाका केही समयअघि मात्रै पूर्ण रूपले सञ्चालनमा आएको थियो । त्यसयता तातोपानी र खासामा व्यापार गर्ने व्यवसायी बढेका थिए । तर, अहिले यार्साको सिजन सुरु भएलगत्तै फेरि बजार सुनसान बनेको हो । अहिले सीमा गाउँका अधिकांश पसल तथा होटलहरू ठप्पजस्तै देखिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए ।

‘सीमा छेउमा वारिपारिका केही पसल त खुलेका छन् तर त्यहाँ न व्यापार भएको देखिन्छ न ग्राहक नै छन्,’ उनले भने, ‘अधिकांश व्यापार गर्न भनेर बसेका पसल नै बन्द गरेर लेक उक्लेका छन् ।’ अहिले मितेरी पुलको यार्डमा चीनबाट आयात गरिएका सवारीले भरिएका कन्टेनर छन् । थोरै सर्वसाधारण धेरै सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चीन क्षेत्रको बजारमा झण्डै दुई दर्जन पसल संञ्चालनमा ल्याएका थिए ।

तर अहिले धेरैजसो बन्द रहेको शेर्पाले सुनाए । चीनको उच्च भेगमा यार्सा टिप्न वैशाखको अन्तिम साताबाट सिजन सुरु हुन्छ । हालसम्म नेपाली भूमिबाट मात्रै एक हजारभन्दा बढी यार्सा टिप्नकै लागि चीन पसेको प्रारम्भिक अनुमान गरिएको अध्यागमन कार्यालयले जनाएको छ । यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी सिंगो सिजनमा झण्डै तीन हजारभन्दा बढी यार्सा संकलक लेक क्षेत्र पुग्ने गर्ने गरेको अनुमान गरिने गरिएको थियो ।

भूकम्पपछि अस्थिर रहेको तापानी पूर्ण रुपमा खुलाउन नेपाल पक्षबाट निकै पहल गरिएको थियो । स्थानीय जनप्रतिनिधिदेखि सरकारसम्मले यो नाकालाई पूर्ण रूपमा खुलाउन पहलकदमी लिएका थिए । पछि नाका खुलेपछि स्थानीयमा खुशी छाएको थियो । नाका पूर्ण रूपले खुलेलगत्तै सुनसान बनेका चीनको रमिते र तल्लो मोड क्षेत्रका चिनियाँ बजारमा होटेल र पसल खुल्न थाले भने उसैगरी नेपालको तातोपानी र लिपिङ बजार पनि लयमा फर्किन थाल्यो । तर, त्यो लय अहिले यार्सा सिजनमा फेरि गुमेको छ ।

अहिले नेपालबाट कन्टेनर सिधै खासा पुग्छ । योसँगै नेपालबाट पनि सामग्री चीन भित्रिन थालेको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातमा नाकाले अपेक्षाकृत छलाङ मारेको बताए । तातोपानीबाट कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेको उनले बताए । ‘यार्सा सिजनले अहिले राजस्व पनि केही फरक परेको छ,’ उनले भने, ‘तर, पनि आयात भने भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्