अजिङ्गर भीरको जीर्ण सडक स्तरोन्नतिमा बेवास्ता

म्याग्दी– रघुगंगा गाउँपालिकाको दग्नाम, चिमखोला र कुइँनेमंगलेको सडक मर्मत र स्तरोन्नतिमा गाउँपालिका र जलविद्युत आयोजनाले बेवास्ता गरेका छन् । गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको तत्काल स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र संघीय सांसद् जलविद्युत आयोजनाले ध्यान नदिएको स्थानीबासीको गुनासो छ ।
गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नतिमा उदासिनता देखाउँदा दुर्घटनाको जोखिम, धुलो, हिलोको समस्या र जोखिमपूर्ण यात्रा गर्नुपरेको कुइनेमंगलेबासी गोपाल छन्त्यालले बताए । अक्करे पहाडको सडक स्तरोन्नति नगर्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
रघुगंगा गाउँपालिकाले गत पुस ११ गते आयोजना गरेको सार्वजनिक सुनुवाइमा वडा नम्बर ४ र ८ का वडा सदस्यद्वय चित्रबहादुर गर्वुजा र अगेन्द्र छन्त्यालले रघुगंगा नदीमा निर्माणाधीन जलविद्युतले सामान ओेसारपोसार गर्ने तर पहुँचमार्ग स्तरोन्नतिमा ध्यान नदिँदा जनताले सास्ती खेप्नुपरेको गुनासो उठाएका थिए ।
उनीहरूले हिउँदमा धुलो र बर्खायामा सवारीसाधन नचल्ने समस्या रहेको अक्करे भीरको सडकलाई व्यवस्थित बनाउनतर्फ पहल गर्न आग्रह गरेका थिए । ‘मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको स्तरोन्नतिका लागि तत्काल गाउँपालिका, प्रदेश र संघीय सांसद्को विशेष पहल गर्नुपर्छ,’ स्थानीयबासी गोपाल छन्त्यालले भने, ‘सुनेको छु, गाउँपालिकाको नेतृत्वदेखि वडा तहसम्मका जनप्रतिनिधि जलविद्युत आयोजनासँग कमिशन र फाइदामा लागेपछि सडक स्तरोन्नतिले प्राथमिकता पाएको छैन् ।’
आयोजनाले उपकरण र निर्माण सामग्री ढुवानी गर्दा सडक साँघुरो, धुलो र ग्रेड नमिलेका कारण जनताले सास्ती खेप्नुपरेको छ । यस क्षेत्रका जनताले सडकलाई ग्राभेलसहित स्तरोन्नतिको माग छ । संंसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा १६७.३ मेगावाट क्षमताका पाँचवटा जलविद्युत आयोजना निर्माणाधीन छन् ।
रघुगंगा नदीमा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत आयोजना निर्माणाधीन छन् । जलविद्युत आयोजना र स्थानीय सरोकारवालाको विभिन्न चरणको बैठकमार्फत यस क्षेत्रको सडकलाई ग्रेडिङ र ग्राभेलसहित स्तरोन्नति गर्ने सहमति भए पनि कार्यान्वयनमा बेवास्ता भएको छ ।
मानिस हिँड्नसमेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भीर’ मा करिब पाँच वर्ष पहिला गाउँपालिका र तुँदी पावर कम्पनीसँंगै प्रदेश र संघीय सरकारको समेत सहकार्यले पहुँचमार्ग खोलिएको थियो । दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्ने यस सडकमा जलविद्युत आयोजनाका सामान लिएर ठूलाठूला ट्रक हिँड्न थालेपछि साँघुरो सडक जीर्ण बनेको छ ।
जनताको गुनासोअनुसार यस सडकलाई जलविद्युत आयोजनासँंग मिलेर सडक स्तरोन्नति गर्ने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले विभिन्न कार्यक्रममा प्रतिबद्धता जनाएपछि कार्यान्वयनमा भने ढिलाइ भएको देखिन्छ । सडक फराकिलो र स्तरोन्नतिमा ध्यान नदिने हो भने गाउँ बसाइँसराइले रित्तिँदै जानेर खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्ने देखिन्छ ।