Logo

सान्जेनले अझै पाएन राष्ट्रिय प्रसारणलाइन

रसुवा– विद्युत उत्पादनका हव रहेको रसुवा जिल्लाको आमाछोदङमो गाउँपालिकामा निर्माणा गरिएको सान्जेन जलविद्युत आयोजनाले अझै राष्ट्रिय प्रसारणलाइन पाएको छैन । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय प्रसारण लाइन निर्माणमा ढिलाइ गरेपछि आयोजना प्रसारण लाइनको प्रतीक्षा गरिरहेको छ ।

सान्जेन जलविद्युत आयोजनाले निर्माण गरिरहेको ४२ दशमलव पाँच मेगावाटको आयोजनो गत पुसमा विद्युत उत्पादन गर्ने गरी काम गरे पनि प्रसारणलाइन समयमा नबनेपछि आयोजनाको विद्युत उत्पादन गर्न समस्या परेको हो । गत वर्ष साउनमा १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो सान्जेन आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ । प्रसारणलाइन समयमा नबनेपछि आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक प्रसारण लाइनमार्फत चिलिमेको विद्युत प्रवाह हुने संरचनामा जोडिएको थियो ।

चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रूपमा सान्जेन आयोजना सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणले तोकिएको समयमा प्रसारण लाइनको काम सम्पन्न गर्न प्रसारण लाइन निर्माण कम्पनीलाई दबाब दिन नसक्दा प्रसारणलाइन निर्माण कार्यमा ढिलाइ भएको सरोकारवाला बताउँछन् । नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेसन ९२२ केभी र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न पाएको छैन ।

चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा समस्या भएको हो । ‘प्रसारण लाइनको काम भइरहेकोले सोहीअनुसार काम भइरहेको छ । प्रसारणलाइन अभावले टेस्टिङ र कमिसनिङको काम बाँकी छ,’ आयोजना प्रमुख अर्पणबहादुर सिंहले भने, ‘१५ जुनसम्म हामीले विद्युत उत्पादन गरिसक्छौं त्यसबेलासम्म प्राधिकरणले प्रसारणलाइन पनि सम्पन्न गर्नेछ ।’

वेट कमिसनिङ प्राप्त हुनुअघिको काम सम्पन्न हुन लागेको सिंहले बताए । सान्जेन खोलाको पानी तिलुचे बगरमा बाँध बाँधेर एक हजार ४ सय मिटर लामो सुरुङ तथा ४८० मिटर लामो पेनस्टक पाइपबाट विद्युत उत्पादन गर्ने योजना छ । त्यसै विद्युतगृहबाट निस्कने पानी र सिम्बुखोलाको पानी समेत थपेर अर्को सान्जेन आयोजना निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्