Logo

आज गणतन्त्र दिवस मनाइँदै

संक्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्‍न गर्न सरकार दृढ छः प्रधानमन्त्री

गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर / रासस

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्‍न गर्न सरकार दृढ रहेको बताएका छन् । मंगलबार गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखलेमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले परिलक्षित गरेबमोजिम द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्‍न गरेको उल्लेख गरे ।

उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको बताए । उनले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्‍गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको बताए । संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा संघीय शासन प्रणालीलाई सुदृढ बनाएको बताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, संघीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्‍टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताए । उनले सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभुति गर्नसक्ने गरी सुधारका लागि सरकार स्पष्‍ट मार्गचित्रका साथ अघि बढेको बताए ।

गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ।

प्रधानमन्त्री दाहालले लगानीको वातावरण सुधारका लागि यससम्बन्धी नीतिगत एवं कानूनी व्यवस्थाहरूमा परिमार्जन गरिएको बताए । देशका मजदुर, किसान, विद्यार्थी लगायतका सम्पूर्ण गरी खाने वर्गलाई ध्यानमा राखी आधारभुत आवश्यकताको परिपूर्तिमा ध्यान दिँदै बीउ, मल, पाठ्यपुस्तक, औषधीजस्ता वस्तुहरूको उपलब्धता र आपूर्ति सरल र पहुँचयोग्य बनाइएको बताए ।

मंगलबार १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ ।

गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्