Logo

मेनपावरबाट वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं– कोभिड संक्रमण अन्त्यसँगै मौलाएको वैदेशिक रोजगार व्यवसाय पछिल्लो समय पुनः ओरालो लाग्न थालेको छ । इजरायल–हमास युद्धपछि खाडी देशमा देखिएको त्रास र त्यसले निम्त्याएको आर्थिक मन्दीको असर नेपालको वैदेशिक रोजगार व्यवसायमा देखिन थालेको हो ।

नेपाली श्रम बजारमा वार्षिक आउने ५ लाखभन्दा बढी श्रम योग्य जनशक्तिमध्ये आधाभन्दा बढीलाई मेनपावर एजेन्सीले रोजगारीमा सहजिकरण गर्दै आए पनि पछिल्लो समय व्यवसायमा कमी आएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्म मेनपावरमार्पmत वैदेशिक रोजगारीमा गएको नेपालीको संख्या ३ लाख १९ हजार ५५५ रहेकोमा चालु आवमा सो संख्या ३ लाख १७२ मा सिमित भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ मलेसियाले विदेशी कामदार नलिने निर्णय गर्नु र खाडी क्षेत्रमा युद्धको सम्भावना देखिनुले व्यवसाय घटेको बताउँछन् । ‘कोभिडपछि मलेसिया तथा खाडीमा धेरै नेपालीको माग भयो, तर अहिले पुनः आर्थिक मन्दी शुरु भएपछि माग आउन सकेन,’ गुरुङले कारोबारसँग भने, ‘विगत २ वर्षमा कम्पनीले धेरै नेपाली माग गरेका कारण अहिले खाडीबाट नयाँ माग आएको छैन ।’

कोभिडपछि विश्वभर श्रमिक अभाव हुँदा सबैले आवश्यकता अनुसार माग पूरा गरेको असर अहिले देखिएको व्यवसायीको भनाइ छ । त्यसमा पनि मलेसियाले जुन महिनाबाट अनिश्चित समयका लागि विदेशी कामदार नलिने घोषणा गरेका कारण आगामी दिनमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या अझ घट्ने संकेत देखिएको छ । साधारण अवस्थामा मेनपावरमार्पmत नेपालबाट प्रत्येक वर्ष ४ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए ।

नेपालमा प्रत्येक वर्ष करिब ५ लाख श्रमयोग्य जनशक्ति श्रम बजारमा प्रवेश गर्ने सरकारी अनुमान छ । यसरी प्रवेश गर्ने श्रमशक्तिलाई रोजगार प्रदान गर्न नेपालको श्रम बजार सक्षम छैन । न्यून आर्थिक वृद्धि, भौगोलिक जटिलता, सीमित उब्जाउ योग्य भूमी, सीपविहिन जनशक्ति र कमजोर संरचनात्मक आर्थिक प्रणालीका कारण देशमा रोजगार उपलब्ध हुन नसकेर वैदेशिक रोजगारीमा जानु युवाको बाध्यता बनेको छ । यसरी श्रम बजारमा आउने युवालाई स्वदेशको रोजगारीको विकल्पमा मेनपावरले सहजिकरण गर्दै आएका छन् ।

नेपालले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा कामदार पठाउन खुला गरेको देशको संख्या ११० पुगेको भए पनि नयाँ विकल्पको खोजी गर्न नसक्दा वैदेशिक रोजगारी पनि न्यून आम्दानी हुने खाडी तथा मलेसियामा मात्र केन्द्रित हुन पुगेको छ । कतार, मलेसिया, साउदी अरब, युएइ, कुवेत, वहराइन, ओमान, दक्षिण कोरिया लगायतका देश नेपाली युवालाई प्रमुख श्रम गन्तव्यका रुपमा रहेका छन् । त्यसमध्ये कोरिया आम्दानीका हिसाबले राम्रो मानिन्छ ।

दुई वर्षअघि कोभिडका कारण सयौं मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेका थिएनन् । अघिल्लो आर्थिक वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको भएको थियो । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जानेमात्र नभई मेनपावरमा कार्यरत हजारौं कर्मचारीले समेतले रोजगारी गुमाएका थिए । कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ मेनपावर कम्पनीमध्ये २ सय ५१ वटाले एक जना पनि श्रमिक विदेश पठाउन सकेनन् भने यीमध्ये धेरैजसो बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्